Photo Credit: AFP
इस्लामावाद- पाकिस्तानका राष्ट्रिय सुरक्षा सल्लाहकार मोइद युसुफले कुनै अमेरिकी अधिकारीले पाकिस्तानमा सैन्य अड्डा स्थापना गर्न प्रस्ताव नराखेको स्पष्ट पारेका छन्।
आफ्नो १० दिने अमेरिका भ्रमण पूरा गरी स्वदेश फर्किएका राष्ट्रिय सुरक्षा सल्लाहकार युसुफले सैन्य अड्डा स्थापना गर्ने कुरामा कुनै सत्यता नरहेको दाबी गरेका हुन्।
अमेरिकीसहितका विदेशी सैनिकको अन्तिम समूह फिर्ता हुने क्रम जारी रहेका बेला तालिबानले अफगानिस्तानमा आफ्नो प्रभाव बढाउँदै लगेको छ।
शुक्रबार मात्रै तालिबानले दक्षिण पश्चिमी प्रान्त निमरोजको राजधानी जारान्जमा पनि आफ्नो नियन्त्रण कायम गरेको थियो।
छिमेकी राष्ट्र अफगानिस्तानको पछिल्लो घटनाक्रमलाई प्रभावित गर्नका लागि जो वाइडेन प्रशासनले पाकिस्तानसमक्ष सैन्य अड्डा बनाउने प्रस्ताव राखेका थिए।
‘अमेरिका रहँदा धेरै उच्च अधिकारीसँग भेट गरें। तर, मिडियाबाहेक हाम्रो कुराकानीको क्रममा एकपटक पनि सैन्य अड्डा निर्माण गर्ने शब्द उठेन,’ उनले भने।
प्रधानमन्त्री इमरान खानले जूनमा अफगानिस्तानमा सैन्य कारबाहीका लागि पाकिस्तानमा अमेरिकी अड्डाहरू राख्ने प्रस्ताव अस्वीकार गरेका थिए।
उनले यो प्रस्ताव डरलाग्दो रहेको र देशमा आतंकवादीहरुले बदला लिन हमला गर्ने खतरा रहेको बताएका थिए।
अमेरिकाले २० वर्षदेखि जारी सैन्य अभियान अन्त्य गर्ने घोषणा गर्दै आफ्ना सैनिकहरु फिर्ता लैजान थालेपछि अफगानिस्तानमा तालिबानले हिंसा बढाएको छ।
अफगानिस्तानको पश्चिमको हेरात, दक्षिणको कान्दाहर र लश्कर गाहसहितका प्रमुख शहरहरु पनि तालिबानको निरन्तर दबाबमा छन्।
ती क्षेत्रमा सरकारी सुरक्षा बललाई नियन्त्रण कायम गरिरहन गाह्रो परिरहेको छ। यस्तै, तालिबानले इरानसँगको सीमा क्षेत्र नजिक रहेको जारान्ज कब्जा गरेको दाबी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।