लाहोर- पाकिस्तानको पञ्जाब प्रान्तीय प्रहरीले एक हिन्दू मन्दिर तोडफोड गरेको आरोपमा २० जनालाई पक्राउ गरेको छ। यस्तै, घटनामा संलग्न १५० जनाभन्दा बढीविरुद्ध मुद्दा चलाएको छ।
आठ वर्षीय हिन्दू बालकले एक स्थानीय मदरसामा पिसाव फेरेपछि उनलाई प्रहरीले उजुरीको आधारमा पक्राउ गरेको थियो।
तर, अदालतले रिहाइ गर्न आदेश दिएपछि रहिमयार खान जिल्लाको भोंग क्षेत्रमा शुक्रबार सयौं मुस्लिमहरुले लाठी, ढुङ्गा र ईटा बोकेर हिन्दू मन्दिरमा तोडफोड गरेका थिए।
यस्तै, मन्दिरको केही भागमा आगजनी गरिएको छ भने मूर्तिहरु तोडफोड गरिएको छ।
सर्वोच्च अदालतका मुख्य न्यायाधीश गुलजार अहमदले शुक्रबार भएको घटना रोक्न असफल भएको भन्दै प्रहरीको आलोचना गरेका छन्।
उनले यस्तो घटना बारम्बार दोहोरिनु लाजमर्दो भएको र विदेशीसामू पाकिस्तानको साख गिरेको टिप्पणी गरेका छन्।
यस्तै, उनले आठ वर्षीय बालक पक्राउप्रति पनि आपत्ति जनाएका छन्। नाबालिगहरुको मानसिक क्षमता बुझ्न असमर्थ रहेको भन्दै उनले प्रहरीको आलोचना गरेका छन्।
यद्यपि, प्रहरीले घटना घटेको २४ घण्टा नबित्दै २० जनालाई विभिन्न स्थानबाट पक्राउ गरेको छ।
रहिम यार खानका जिल्ला प्रहरी अधिकारी (डीपीओ) असद सरफराजले भने,‘हामीले घटनामा संलग्न रहेको आशंकामा २० भन्दा बढी संदिग्धहरुलाई पक्राउ गरिसकेका छौं। भिडियो फुटेजको माध्यमबाट संदिग्धहरुको पहिचान गरिरहेको हुनाले आगामी दिनहरुमा थप केही व्यक्ति पक्राउ पर्छन्।’
उनले मन्दिर तोडफोड गरेको आरोपमा १५० जनाभन्दा बढीविरूद्ध आतंकवाद र पाकिस्तान दण्डसंहिताको विभिन्न धाराअन्तर्गत मुद्दा दर्ता गरिएको जानकारी दिए।
‘हामी यो अपराधमा संलग्न प्रत्येक संदिग्धलाई पक्राउ गर्नेछौं। सर्वोच्च अदालतको आदेशमा मन्दिरको जीर्णोद्धारको काम सुरु गरिएको छ,’उनले भने।
पाकिस्तानको संसदले शुक्रबार एक प्रस्ताव पारित गर्दै मन्दिरमा भएको तोडफोडको घटनाप्रति निन्दा गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।