काठमाडौं– नेपाली कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले तोकिएको मितिमा पार्टीको १४औं महाधिवेशन गर्न सकिने अवस्था नरहेको बताएका छन्।
शुक्रबार साँझ आफूलाई भेट्न आएका आफू इतरका तेस्रो पुस्ताका नेताहरुलाई देउवाले १४औं महाधिवेशनको मितिको सन्दर्भमा विकल्पको खोजी भएको बताए। सभापतिको अभिव्यक्ति उधृत गर्दै भेटमा सहभागी नेता बद्री पाण्डेले भने, 'महाधिवेशन हुने अवस्था देखिएको छैन। पार्टीको वैधानिकताको बारेमा निर्वाचन आयोगसँग पनि कुरा हुन्छ। जे हुन्छ, पार्टीमा सबैको सहमतिबाट हुन्छ।'
केन्द्रीय समितिको बैठक अघि नै आयोगसंग आन्तरिक छलफल गरेर निष्कर्षमा पुगिने देउवाले युवा नेताहरुलाई जानकारी दिए। महाधिवेशन समयमा हुन नसक्नुमा कोरोना कारण रहेको देउवाले बताएका थिए।
पूर्व सरकारका कारण जनतामा निराशा रहेकोले आशा जगाउने कार्य र निर्णय गर्न युवा नेताहरुले देउवालाई सुझाव दिएका थिए।
देउवाले नेताहरुलाई मन्त्रिपरिषद् विस्तारका विषयमा आफूलाई परेको कठिनाइबारे सुनाएका थिए। युवा नेतासँगको भेटमा देउवाले भने, 'मन्त्री बन्न प्रतिस्पर्धा धेरै जनाको छ। गठबन्धनको सरकार भएकाले सबैलाई भागबन्डा मिलाउनुपर्छ।' पार्टीलाई प्राप्त मन्त्रालयमा कांग्रेस भित्रका अन्य पक्षलाई पनि सम्मानजनक हैसियत दिने भनेर देउवाले वचन दिएको भेटमा सहभागी नेताले जानकारी दिए।
सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग समय लिएर युवा नेताहरु उनलाई भेट्न बालुवाटार पुगेका थिए। नेताहरु चन्द्र भण्डारी, गगन थापा, धनराज गुरुङ, गुरुराज घिमिरे, बद्री पाण्डे, जीवन परियार, रामकृष्ण यादव लगायत बालुवाटार पुगेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।