फाइल तस्वीर।
काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पाैडेलले अरु केही विकल्प नरहे विशेष महाधिवेशन भनिएको बताएका छन्।
उनले विशेष महाधिवेशनको रहर नभएको भने बताए। 'भदौ २३ पछि नयाँ कार्यसमिति आएन भने यो कार्य समितिको वैधानिकता सकिन्छ। क्रियाशील सदस्यता विवादको समाधान खोज्दै गर्दा अस्थायी रूपमा केही गर्न सकिन्छ कि भनेर मात्रै विशेष महाधिवेशन भनिएको हो', पाैडेलले बिहीबार आफू पक्षका नेताहरूको बैठकपछि भने।
उनले भदौ २३ पछि पार्टी वैधानिक रूपमा संकटमा पर्ने बताए। 'कांग्रेस महाधिवेशनको मुखमा भएकाले त्यसका विषयमा छलफल गर्याैं। महाधिवेशनको सुनिश्चितताको बारेमा छलफल गर्याैं', पाैडेलले भने, 'महाधिवेशनको कार्यतालिका छिटो ल्याउनु पर्दछ।'
क्रियाशील सदस्यताको छलफल गर्न शीर्ष तीन नेतालाई जिम्मेवारी दिइएको छ। प्रधानमन्त्री समेत भएकाले सभापति शेरबहादुर देउवाले क्रियाशील सदस्यता छलफल गर्न धेरै समय दिन नभ्याएको उनले बताए। त्यसले गर्दा समस्या भएको पाैडेलले बताए।
पौडेल पक्षको बैठक नेता प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा भएको थियो।
क्रियाशील सदस्यताको विवाद टुंग्याउन बुधबार बसेको कांग्रेस शीर्ष नेताहरूको बैठकमा पाैडेलले विशेष महाधिवेशनको प्रस्ताव अघि सारेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।