काठमाडौं- समयमै महाधिवेशन गर्न माग गर्दै नेपाली कांग्रेसको संस्थापन इतरका ४२ युवाले ध्यानाकर्षण पत्र बुझाएका छन्। उनीहरूले बिहीबार कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत् सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र बुझाएका हुन्।
महाधिवेशन सुनिश्चित नगरिए ७७ वटै जिल्ला कार्यालयमा अनसन सुरु गर्ने उनीहरूको चेतावनी छ। 'सबल कांग्रेस निर्माणका लागि युवा अभियान'का प्रतिनिधिहरूले तीन बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै तत्काल महाधिवेशन कार्यतालिका सार्वजनिक गर्न, समायोजनका नाममा बाँडिएका विधानविपरीतका सदस्यताको पुनः छानबिन गर्न र विधिवत महाधिवेशन निश्चित गर्न माग गरेका हुन् ।
नेता रञ्जित कर्ण, मनोजमणि आचार्य, सुवासकुमार पोखरेल, श्रीराम लामिछाने, दीपक भट्टराई, रिता खनाल र प्रतिमा गौतमसहित ४२ जनाले हस्ताक्षरसहित महाधिवेशन सुनिश्चित गर्न माग गरेका हुन्।
भदौ १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने भनेपनि महाधिवेशन अनिश्चित बनेको उनीहरूको भनाइ छ। बारा, सप्तरीलगायतका जिल्लाको क्रियाशील सदस्यता टुंग्याउन पनि उनीहरूले माग गरेका छन्। बाराका नेता तथा कार्यकर्ता पार्टी कार्यालयमा २५ दिनदेखि धर्नामा छन्। विधानअनुसार न्यायपूर्ण ढंगले क्रियाशील दिन उनीहरूको माग छ।
'यस्तो प्रवृत्तिले कतै ऐतिहासिक पार्टीको कानुनी वैधानिकतामाथि नै प्रश्न उठ्ने त होइन? भन्ने गम्भीर आशंका उब्जाएको छ। तसर्थ, विधान र नियमावली अनुरूप न्यायपूर्ण ढङ्गले कियाशील सदस्यताको विवाद समाधान गरी धर्ना र अनसन लगायतका गुनासाहरुको सम्बाेधन गर्दै तत्काल महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गरियोस्', ध्यानाकर्षण पत्रमा भनिएको छ।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।