काठमाडौं- अफगानी विदेशमन्त्री मोहम्मद हनिफ अत्मारले देशमा गहिरिँदै गएको गृहयुद्धबारे समिक्षा गर्न राष्ट्रसंघको सुरक्षा परिषद्को आपतकालीन बैठक आह्वान गर्न आग्रह गरेका छन्।
मन्त्री अत्मारले बुधबार भारतीय समकक्षी एस जयशंकरलाई टेलिफोन गरेर अफगानिस्तानमा हिंसा कम गर्ने र शान्ति प्रक्रियाको विषयलाई केन्द्रमा राखेर बैठक आयोजना गर्न आग्रह गरेको हिन्दी बीबीसीले जनाएको छ।
भारतले यस महिनाको लागि सुरक्षा परिषद्को अध्यक्षता गरिरहेको छ।
‘भारतीय विदेशमन्त्रीसँग अफगानिस्तानसँग सम्बन्धित आपतकालीन बैठक आयोजना गर्ने विषयमा टेलिफोनमा कुराकानी गरेको छु। राष्ट्रसंघ र अन्तर्राष्ट्रिय समुदायले तालिबानको हिंसा र अत्याचार रोक्न महत्वपूर्ण भूमिका खेल्न सक्छन्,’ उनले ट्विटमा भनेका छन्।
यसैबीच, परिषद्को हालै सम्पन्न भएको बैठकमा अफगानिस्तानको हेरात शहरस्थित राष्ट्रसंघको सहायता मिसनको प्रान्तीय मुख्यालय नजिकै तालिबानले गरेको आक्रमणको निन्दा गरेको छ।
तालिबानले अफगानिस्तानको ८५ प्रतिशतभन्दा बढी भू–भाग आफ्नो नियन्त्रणमा लिएको दाबी गरिरहेको छ। साथै, अन्य क्षेत्र आफ्नो नियन्त्रण लिने लक्ष्यका साथ आक्रमण गरिरहेको छ।
अफगानी रक्षामन्त्रीको निवास र राष्ट्रपतिको भवन नजिकै पनि तालिबानले आक्रमण गरेको थियो।
रक्षामन्त्री बिसमिल्लाह खानको घरमा मंगलवार राति भएको कार बम तथा गोली आक्रमणमा परी ४ जनाको मृत्यु भएको थियो। घटनामा केही आक्रमणकारीको मृत्यु भएको छ भने ११ जना घाइते भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।