काठमाडौं- म्यानमारको सेनाले सन् २०२३ को अगष्टबाट आपतकालीन अवस्था हटाइने बताएको छ।
टेलिभिजनमार्फत सम्बोधन गर्दै सेनाका प्रमुख मिन औङ हलियाङले बहुदलीय निर्वाचन भएपछि आपतकालीन अवस्था हटाइने बताएका हुन्।
म्यानमारले यसअघि एक वर्षसम्म मात्र आपतकाल जारी रहने बताएको थियो। गत फेब्रुअरीमा सेनाले सत्ता आफ्नो हातमा लिएसँगै त्यसको विरोधमा देशभर प्रदर्शन भइरहेको छ।
उक्त प्रदर्शनका क्रममा करिब एक हजार जनाको मृत्यु भएको छ।
यता, सेना प्रमुख हलियाङले आफ्नो सरकार आसियानको विशेष दूतसँग काम गर्न तयार रहेको बताएका छन्।
सोमबार आसियन क्षेत्रका विदेशमन्त्रीहरुको बैठक बस्दै छ। ‘आसियान क्षेत्रसँग पनि सहकार्यका लागि हामी तयार छौं,’ उनले भने।
उक्त बैठकमा म्यानमारमा सेना र प्रदर्शनकारीबीचको हिंसा कम गर्न विशेष दूत छान्ने विषयमा छलफल हुने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।