काठमाडौं- लिबियाका तानाशाह शासक मोहम्मद अल गद्दाफीका छोरा सेफ अल इस्लामले देशमा फेरि "एकता बहाल" गर्न चाहेको बताएका छन्।
४९ वर्षीय इस्लामले अमेरिकी पत्रिका न्यूयोर्क टाइम्सलाई दिएको एक अन्तर्वार्तामा उत्तरी अफ्रिकी देश लिबिया र राजनीतिसँग सम्बन्धित धेरै कुरा बताएका थिए। उनले लिबियामा राष्ट्रपति चुनावमा आफ्नो दावेदारीको सम्भावनालाई इन्कार गरेनन्।
सन् २०११ मा लिवियाको राजधानी त्रिपोलीलाई विद्रोहीले नियन्त्रणमा लिएका थिए र अक्टुबर २०११ मा गद्दाफीलाई कुटीकुटी हत्या गरेका थिए।
गद्दाफीका उत्तराधिकारी मानिने सेफ अल इस्लामले विगत १० वर्षमा लिवियाका नेताले जनतालाई दु:ख बाहेक केही नदिएको बताएका छन्।
कयौं वर्षपछि सार्वजनिक भएका इस्लामले भने, "अब अतीतमा फर्कने समय आएको छ, देश गम्भीर अवस्थामा पुगेको छ। न पैसा छ, न सुरक्षा। यहाँ जिन्दगी नै छैन।"
इस्लामले अन्तर्वार्ताका क्रममा अब आफू एक स्वतन्त्र व्यक्ति भएको र राजनीतिमा फर्कने तयारी गरिरहेको बताए।
उनले आफूलाई जेलमा हाल्नेहरु अहिले साथी बनेको बताए। लिवियाका विद्रोहीलाई अन्तिममा आफूहरु शक्तिशाली सहयोगी बन्न सक्ने थाहा भएको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।