काठमाडौं- चीनमा विदेशी पत्रकारमाथि जासूसी, उत्पीडन र उनीहरुलाई डराउने धम्क्याउने घटनामा बृद्धि भइरहेकोमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङकेनले आफूहरु चिन्तित भएको बताएका छन्।
उनले शुक्रबार एक ट्वीटमा चीन सरकारले यसलाई सुधार गर्न सक्ने र गर्नुपर्ने उल्लेख गरेका छन्। चीनले अमेरिकी विदेश मन्त्रीको भनाइप्रति प्रतिक्रिया दिँदै अमेरिकी सरकारले पहिला आफूलाई हेर्नुपर्ने भनेको छ।
अमेरिकी न्यूजसमूह ब्लूमबर्गले शुक्रबार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिजियानसँग यसबारेमा सोधेका थिए। उनले अमेरिकामा चिनियाँ पत्रकारका साथ भएको व्यवहार स्मरण गराए।
उनले भने "हामी अमेरिकी टिप्पणिलाई दृढतासँग खारेज गर्छौं। अमेरिकी भनाइ केही दिन पहिला तथाकथित फरेन करेस्पोन्डेन्ट क्लब अफ चाइनाद्वारा दिएको भनाइ भन्दा अलग छैन। दुबैले तथ्यको अवहेलना गर्छन्। सही र गलतलाई तोडमोड गरेर पेश गर्छन्। र निराधार आरोपका साथ चीनमाथि दबाब बनाउने प्रयास गर्छन्। "
उनले २०१८ देखि अमेरिकाले २० भन्दा धेरै चिनियाँ पत्रकारलाई बिना कारण भिसा दिन इन्कार गरेको र चिनियाँ मिडियालाई अमेरिकामा विदेशी मिशनको रुपमा लिइएको र कर्मचारीमा पनि सीमा लगाइएको बताए। उनले अमेरिकामा सञ्चारकर्मीमाथि भएका ज्यादतीबारे स्मरण गराए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।