GETTY IMAGES
काठमाडौं- कोरोना रोकथामका लागि जारी गरिएको लकडाउन उल्लंघन गरेपछि अस्ट्रेलियाली सरकारले सिड्नीमा सेना परिचालन गरेको छ।
जारी लकडाउन सर्वसाधारणले वेवास्ता गरेको भन्दै सरकारले सडकमा अस्ट्रेलियन डिफेन्स फोर्सका सैनिक परिचालन गरेको हो।
परिचालन गरिएको सैनिकहरू संक्रमण भएका क्षेत्रमा लकडाउन सम्बन्धी नियम पालना भए या नभएको हेर्न प्रहरीसँगै खटिने बीबीसीले जनाएको छ।
डेल्टा भेरियन्टका कारण अस्ट्रेलियमा ३ हजार मानिस संक्रमित भएपछि सरकारले सिड्नी लगायत कोरोनाको जोखिम रहेको क्षेत्रमा लकडाउन लागू गरेको छ।
सिड्नीमा विगत पाँच साता यता लकडाउन जारी गरिएपनि कोरोना संक्रमण नियन्त्रणमा ल्याउन सकिएको छैन। यसैबीच सेना परिचालनप्रति सिड्नीका सर्वसाधारणले विरोध जनाएका छन्। सिड्नीमा शुक्रबार मात्रै थप १७० कोरोना संक्रमित फेला परेका छन्।
अष्ट्रेलियामा आगामी अगस्ट २८ तारिखसम्म लकडाउन कायम रहने छ। लकडाउनकाे समयमा आवश्यक व्यायाम, किनमेल वा हेरचाहका लागि वा अन्य कारण बाहेक घरबाट निस्कन प्रतिबन्ध लगाइएको छ।
यस्तै, १० किलाेमिटरभन्दा पर यात्रा गर्न राेक लगाइएको छ।
फेयरफिल्ड काउन्सिल क्षेत्रमा बसोबास गर्ने र वृद्ध स्याहार एवं स्वास्थ्य सेवामा कार्यरत मानिस र क्यान्टबरी तथा ब्याङ्क्सटाउन इलाकामा बसोबास गर्ने अत्यावश्यक कर्मचारीहरूले अब हरेक ३/३ दिनमा कोरोना परीक्षण गराउनुपर्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।