काठमाडौं- भारतीय फोटो पत्रकार दानिश सिद्दिकीलाई तालिबानले 'बर्बरतापूर्वक' हत्या गरेको रिपोर्ट सार्वजनिक भएको छ।
अमेरिकी पत्रिका वासिङ्टन एग्जामिनरले आफ्नो एक रिपोर्टमा यस्तो दाबी गरेको हो। पत्रिकाका अनुसार पुलित्जर पुरस्कार बिजेता सिद्दीकीको मृत्यु अफगान सेना र तालिबानबीचको संघर्षको क्रममा नभएर हत्या भएको हो। तालिबानले उनको हत्या गरेको रिपोर्टमा जनाइएको छ।
समाचार एजेन्सी रोयटर्समा काम गर्ने ३९ वर्षीय दानिश रिपोर्टिङका लागि अफगानिस्तानमा थिए, जब कन्धारको स्पिन बोल्डक क्षेत्रमा उनको मृत्यु भएको थियो।
शुरुआती रिपोर्टमा दानिशको मृत्यु अफगान सेना र तालिबानबीच भएको संघर्षका क्रममा भएको जनाइएको थियो।तालिबानले एक विज्ञप्ति जारी गर्दै उनको मृत्युमा आफ्नो हात नभएको जनाएको थियो।
तालिबानले भनेको थियो, 'हामी भारतीय पत्रकारको मृत्युमा खेद प्रकट गर्छौं। यस क्षेत्रमा रिपोर्टिङका लागि आउने पत्रकारले हामीलाई जानकारी दिउन् र हामी उनीहरुको ख्याल गर्छौं।' पत्रिकाको रिपोर्टले तालिवानको यो दाबीलाई गलत साबित गरेको छ।
रिपोर्टका अनुसार दानिश सिद्दीकी अफगान सेनाका साथ स्पिन बोल्डक इलाकामा तालिबान-अफगान संघर्षबारे रिपोर्टिङका लागि गएका थिए। स्पिन बोल्डक क्षेत्रमा तालिबानको कब्जा छ।
रिपोर्टमा भनिएको छ, “जब अफगान सेना र दानिश एक कस्टम पोस्टबाट केही टाढा थिए। तब उनीहरुमाथि तालिबानले हमला गरे र अफगान सेना दुई टुकडिमा विभाजित भयो। यस बीचमा अफगान सेनाका कमान्डर र केही सैनिक दानिशसँग अलग भएका थिए।”
वाशिङ्टन एग्जामिनरका अनुसार यसबीच गोलीबारीमा दानिश सिद्दीकी घाइते भए र उनलाई प्राथमिक उपचार दिनका लागि एक स्थानीय मस्जिदमा लगियो। उनलाई मस्जिदमा लगिएको थाहा पाएसँगै तालिबानले मस्जिदमा हमला गरे।
रिपोर्टमा स्थानीय अनुसन्धान भन्दै तालिबानले मस्जिदमा सिद्दीकी भएका कारण हमला गरेको जनाइएको छ।
रिपोर्टमा भनिएको छ “तालिबानले जब सिद्दीकीलाई पक्राउ गरे तब उनी जिउँदै थिए। तालिबान युवाहरुले पहिला उनी नै भएको पुष्टि गरे र फेरि उनीमाथि गोली हाने।”
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।