काठमाडौं- नाइजेरियाको एक अदालतले प्रतिबन्धित शिया समूहको इस्लामिक मुभमेन्ट अफ नाइजेरिया (आईएमएन)का नेता इब्राहिम अल जाक्जाकीलाई रिहा गर्न आदेश दिएको छ।
सन् २०१५ देखि विभिन्न ८ वटा अपराधिक अभियोगमा जेल जीवन बिताइरहेका जाक्जाकी र उनकी पत्नीलाई रिहा गर्न आदेश दिइएको हो।
उनीविरुद्ध सेनाले करिब ३५० जनाको हत्या गरेको आरोपसमेत लगाएको छ। उनीहरुको हत्या गरेर नजिकको मस्जिद र उत्तरी कदुना राज्यको चिहानमा शव गाड्न लगाएको आरोप पनि लगाइएको छ।
यस्तै, सरकारले जाक्जाकी र उनकी पत्नीलाई २०१८ मा मानवअधिकार उल्लंघन, गैरकानुनी सभा आयोजना र सार्वजनिक शान्ति भंग गरेको आरोप लगाएको थियो।
वकिल सदाउ गरबाले बुधवारको सुनुवाइ पछि एएफपी समाचार एजेन्सीलाई भने, ‘उनीहरूले यो अपराध गरेका थिए भनेर कुनै पनि प्रमाणित भएन। जोडी निर्दोष साबित भए र उनीहरूले आज रिहा भए।’
जाक्जाकीविरुद्ध मुद्दा दायर गरेका दारी बायरोले यो जोडीलाई रिहा गरिएको कुरा पुष्टि गरे। उनले यो बिषयमा माथिल्लो अदालतमा पुनारावेदन दिने बताएका छन्।
‘हामीले अदालतमा पेश गरेका कुनै पनि प्रमाणले ती दुबै दोषी भएको निश्चित भएन,‘उनले भने,‘यसको मतलब यो होइन कि उनीहरू निर्दोष छन् र पुन: मुद्दा दर्ता गर्न सकिँदैन। हामी पक्कै पनि अपील गर्नेछौं।’
शिया नाइजेरियाको एक सानो अल्पसंख्यक समुदाय हुन्। नाइजेरियामा लगभग आधा जनसंख्या मुस्लिम र अत्यधिक सुन्नी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।