काठमाडौं- राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्ला अलमुताइरीले छानबिनको माग गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा)मा निवेदन दिएका छन्।
एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङसहित एउटा खेलकुद अनलाइनका दुई सञ्चारकर्मीमाथि छानबिन गर्न अलमुताइरीले बिहीबार निवेदन बुझाएकाे एन्फा प्रवक्ता किरण राईले जानकारी दिए।
‘मुख्य प्रशिक्षकले एन्फा वरिष्ठ उपाध्यक्ष (पंकजविक्रम नेम्वाङ) र दुई पत्रकारको विषयलाई लिएर छानबिन गर्न पत्र बुझाउनु भएको छ,’ उनले भने।
गत शुक्रबार दुई सञ्चारकर्मीबीच भएको विवादमा वरिष्ठ उपाध्यक्ष नेम्वाङको भूमिका रहेको प्रशिक्षक अलमुताइरीले आरोप लगाएका छन्।
उनले आइतबार सामाजिक सञ्जालमा समर्थकलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष नेम्वाङका कारण आफूले राजीनामा दिन लागेको घोषणा गरेका थिए। यद्दपी, उनले लिखित राजीनामा भने दिएका छैनन्।
यता, नेम्वाङले भने एन्फाको निर्वाचनलाई प्रभावित गर्नेगरि प्रशिक्षकलाई आफूमाथि प्रयाेग गरिएकाे आराेप लगाएका छन्। उनले यही बिषयमा छानबिनका लागि एन्फा केन्द्रिय समितिको बैठक माग गरेका छन्। बैठक शुक्रबार बाेलाइएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।