सोल- अमेरिकासँगको वार्ताको तयारी गरिरहेको उत्तर कोरियाले सैनिक नेतृत्वमा व्यापक मात्रामा फेरबदल गरेको छ।
अमेरिकासँग जुन १२ मा वार्ताको तयारी गरिरहेको उत्तर कोरियाले यसरी सैनिक नेतृत्वमा गरेको व्यापक फेर बदललाई निकै चासोपूर्ण रुपमा लिइएको छ। यस चासोका कारण दक्षिण कोरिया पनि चनाखो बनेको बताएको छ। उसले वार्ताकै मुखमा आएर भएको यस फेरबदलको प्रभाव के हुन सक्ला भन्ने बारेमा पनि व्यापक मात्रामा परामर्श गरिरहेको छ।
उत्तर कोरियामा सेना शक्तिशाली हुन्छ। यहाँको सेनाको प्रमुख संरक्षक सर्वोच्च नेता हुने र उहाँको विश्वासपात्र सैनिक प्रमुखमा नियुक्त हुने प्रचलन रही आएको छ।
उत्तर कोरियाली नेता किम जोङ उनले देशका तीन उच्चपदस्थ सैन्य अधिकारीलाई केही दिनयता नै पदबाट हटाएर उनीहरुभन्दा तल्लो वरीयताका अधिकारीलाई नियुक्त गरेका छन्।
पदबाट हटाइएका प्रमुख अधिकारीमा रक्षामन्त्री पाक यङ सिक नै रहेका छन्।
अहिले ल्याइएका सेनाका अधिकारीहरु उत्तर कोरियाली नेता किमका नजिकका सहयोगीका साथै मध्यमार्गी रहेका बताइन्छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग निशस्त्रीकरणसम्बन्धी वार्ताको तयारीमा रहेका किमलाई अमेरिकासँग वार्ता गर्न नहुने भन्ने आवाज पनि सेना भित्रैबाट उठेको समाचार यसअघि नै आएको थियो।
उत्तर कोरियालीहरूले अमेरिकालाई साम्राज्यवादी शक्ति र उत्तर कोरियाको ‘जन्मजात शत्रु’ समेत भएको भन्दै प्रस्तावित वार्ताको विपक्षमा आवाज पनि दिएका थिए। तर पछिल्लो समयमा नेता किम तथा उत्तर कोरियाली सञ्चारमाध्यम पनि आगामी वार्ताका बारेमा र अमेरिकाप्रति पनि केही नरम हुँदै गएको देखिएको छ। सोही बमोजिम नै उत्तर कोरियाले वार्ताको तयारी गरिरहेको बताइएको छ।
उता राष्ट्रपति ट्रम्पले किमसँगको शिखर बैठक सिंगापुरमा जुन १२ मै हुने बताउँदै आएका छन् भने उत्तर कोरियाली नेता किमले पनि सो वार्ताको तयारी बडो चाखपूर्ण रुपमा गरेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
यस्तो अवस्थामा सेनाको एक समूहले नै विरोध वा विद्रोह गर्नसक्ने त्रासले नेता किमले सैनिक नेतृत्वमा व्यापक फेरबदल गरेको हुन सक्ने बताइएको छ।
उता दक्षिण कोरियाले भने यस चासोका कारण चनाखो बनेको बताएको छ। उसले वार्ताकै मुखमा आएर भएको यस फेरबदललाई नजिकबाट हेरेको बताएको छ।
दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय ब्ल्यु हाउसले भनेको छ– 'अहिले आएर भएको उत्तर कोरियाभित्रका लागि एक शक्तिशाली सेनाको फेरबदललाई हामीले नजिकबाट हेरेका छौँ।'
दक्षिण कोरिया र अमेरिकी विदेशमन्त्रीबीच फोनवार्ता
यसैबीच सोमबार सोलबाट प्राप्त एक समाचारमा दक्षिण कोरिया र अमेरिकाका विदेश मन्त्रीबीच फोन वार्ता भएको जनाइएको छ।
दक्षिण कोरियाली विदेशमन्त्री काङ ख्योङ्वाले अमेरिकी विदेशमन्त्री माइक पेम्पेओलाई सोमबार बिहान फोन गरेका हुन्। सिंगापुरमा अमेरिका र उत्तर कोरियाबीच हुन लागेको शिखर वार्ताको समय नजिकिँदै आएको बेला उक्त फोनवार्ता भएको हो।
दक्षिण कोरियाली विदेशमन्त्री काङ र अमेरिकी विदेशमन्त्री माइक पम्पेओबीच सोमबार बिहान फोनवार्ता भएको र सो वार्तामा उक्त सिंगापुर वार्ताको बारेमा कुराकानी भएको थियो।
अमेरिकी र उत्तर कोरियाली उच्च अधिकारी सिंगापुरमा
उत्तर कोरियाली र अमेरिकी उच्च अधिकारी सोमबार सिंगापुर पुगेका छन्।
उत्तर कोरियाली रक्षा विभागका एक उच्च अधिकारी र अमेरिकी विदेश मन्त्रालयका एक अधिकारी सिंगापुर पुगेको जापानी सञ्चारमाध्यमहरुले जानकारी दिएका छन्। अमेरिकी राष्ट्रपतिसँगको वार्ताको तयारीका लागि ती अधिकारीहरु सिंगापुर पुगेका हुन्।
यसअघि पनि गतहप्तामात्र उनीहरु वार्ताको पूर्व तयारीको लागि भन्दै सिंगापुर पुगेका थिए।
दुई नेताबीचको शिखर वार्ता अघि ती अधिकारीहरुले संयुक्त रुपमा अग्रिम तयारीको अवस्था हेर्ने भएका प्राप्त समाचारमा जनाइएको छ।
यस वार्ताबारे विश्वमा नै निकै ठूलो चासो फैलिएको छ। विश्वका सञ्चारमाध्यमहरुले वार्ताको समाचार संकलनका लागि आ–आफ्ना प्रतिनिधिहरु सिंगापुर पठाउने तयारी गरिरहेका छन्।रासस/सिन्हवा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।