सिंगापुर- कतारले इरानविरुद्ध हुने द्वन्द्वलाई प्रोत्साहन नगर्ने जनाएको छ। कतारी रक्षामन्त्री खालिद विन मोहम्मद अल–अतियाले सिंगापुरमा भइरहेको अन्तर्राष्ट्रिय सुरक्षा सम्मेलनमा भने, 'दुई देशबीच अनेकौं मतभिन्नता रहे पनि दोहाले इरान विरोधी द्वन्द्वलाई प्रोत्साहन गर्नेछैन।'
'के क्षेत्रीय विवादलाई प्रश्रय दिँदै इजरायल र अमेरिकालाई इरानविरुद्ध निम्त्याउनु बुद्धिमानी हो? इरान एक छिमेकी हो,' उनले थपे,'यदि इरानलाई कमजोर पार्न तेस्रो पक्ष वा अन्य शक्तिराष्ट्रलाई यस क्षेत्रमा निम्त्याइयो भने यो क्षेत्रकै लागि खतरनाक हुनेछ।'
कतारी रक्षा मन्त्रीको यो प्रतिक्रिया साउदी अरबको नाम नलीइकनै साउदीले इरानलाई सघाएको भन्दै कतारमाथि लगाएको नाकावन्दीप्रति लक्षित गरी आएको छ।
कतारी सैन्य हवाई अखडालाई इरानविरोधी युद्धमा प्रयोग गर्न दोहा तयार छ त भन्ने सवालमा रक्षामन्त्री अल–अतियाले भने, 'कतार युद्धको समर्थनमा छैन। बरू समस्यालाई वार्ता र आपसी छलफलबाट समाधान गर्ने पक्षमा रहनेछ।'
यसअघि रसियाली एस–४०० हवाई रक्षा प्रणालीलाई भित्र्याएमा कतारविरूद्ध सैन्य कारबाही गरिने साउदी अरबले चेतावनी दिएको फ्रान्सबाट प्रकाशित हुने 'ले मोन्डे' दैनिकले जनाएको थियो।
रियादले फ्रान्सेली राष्ट्रपति इमानुयल म्याक्रोँलाई कतारले खरिद गर्न लागेको भनिएको एस–४०० बारे जानकारी गराउँदै यसमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्न र हतियार खरिदका लागि निकट समयमा हुन लागेको सम्झौता अवरुद्ध गरी क्षेत्रीय स्थायित्वका लागि सहयोग गर्न भनेको एक गोप्य सूचनालाई उद्धृत गर्दै उक्त दैनिकले लेखेको थियो।
खाडी क्षेत्रका शक्तिराष्ट्रहरू बहराइन, संयुक्त अरब इमिरेट्स लगायतको सहयोगमा साउदी अरबले अतिवादी इस्लामिक समूहहरू तथा इरानसँग निकट भएको आरोपमा कतारसँगको सम्बन्धलाई गत वर्षको जुनदेखि विच्छेद गरेको घोषणा गरेको थियो। इरानलाई रियादको क्षेत्रीय प्रतिस्पर्धीका रूपमा हेरिन्छ।
आफूमाथि लागेको आरोपको कतारले खण्डन गर्दै केही खाडीमुलुकले लगाएको आर्थिक नाकाबन्दी अन्यायपूर्ण भएको बताउँदै आएको छ। एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।