काठमाडौं- अफगानिस्तानमा तालिबान आक्रमण नियन्त्रणका लागि रातमा निषेधाज्ञा आदेश जारी गरिएको छ।
अफगान अधिकारीहरूले तालिबानी आक्रमण बढेको भन्दै नियन्त्रणका लागि देशका ३४ प्रान्तमध्ये ३१ प्रान्तमा रातमा निषेधाज्ञा आदेश जारी गरेकोे आन्तरिक मन्त्रालयले जानकारी गराएको छ।
अमेरिकी नेतृत्वमा रहेका विदेशी सेनाहरूको फर्किरहेकाे बेला तालिबानले अफगानका झण्डै ४०० जिल्लामध्ये आधा क्षेत्र नियन्त्रणमा लिएको उक्त समूहले दावी गरेको छ। अमेरिकी सेना फिर्ता तयारीसँगै तालिवान समूहले देशभर आफ्ना हिंसात्मक गतिविधिलाई पनि बढाएको छ।
‘हिंसा रोक्न र तालिबानी आन्दोलनलाई सीमित गर्नका लागि काबुल, पञ्जशीर र नान्गाहरबाहेक देशभरिका ३१ प्रान्तमा रात्रिकालीन कर्फ्यू लागू गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ।
कर्फ्यू आदेश स्थानीय समयअनुसार बेलुका १० बजेदेखि बिहान ४ बजेसम्मका लागि प्रभावकारी हुने आन्तरिक मन्त्रालयका नायब प्रवक्ता अहमद जिया जियाले बताए।
यस हप्ताको इद अल–अधाको मुस्लिम बिदाको समयमा हिंसा केही हदसम्म कम भएपनि सरकारी सुरक्षा फौजलाई लक्षित गरी आक्रमण बढाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।