काठमाडाैं- अफगानिस्तानमा युद्धरत तालिबान समूहले मुलुकमा शान्ति स्थापना गर्न राष्ट्रपतिले राजीनामा दिनुपर्ने बताएको छ।
एसोसिएटेड प्रेस समाचार एजेन्सीलाई दिएको अन्तर्वार्तामा तालिबानका प्रवक्ता सुहेल शाहीनले अफगानको शक्तिमाथि एकाधिकार कायम गर्न नहुने भन्दै राष्ट्रपति अशरफ घनीले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने बताएका हुन्।
‘जब काबुलमा नयाँ सरकार गठन हुँदैन तबसम्म मुलुकमा शान्ति हुँदै। घनीको सरकार हट्यो भने तालिवानले हतियार बिसाउँछ, मुलुकमा शान्ति हुन्छ,’ उनले भने,‘हामी सत्तामा एकाधिकार चाहँदैनौं। विगतमा सबै शक्ति लिन खोजेका सरकारहरू असफल भएका थिए।’
शाहीनले ती असफल सरकारहरूको बीचमा तालिबानको शासन पनि एक रहेको बताए। ‘हामी उही सुत्रलाई फेरि दोहोर्याउन चाहँदैनौं,’ उनले भने।
अमेरिकी र नाटो सेनाले अफगान छोडेपछि तालिबानले देशका विभिन्न ८५ प्रतिशत भन्दा बढी क्षेत्र नियन्त्रणमा लिएको छ।
लामो समयदेखि आन्तरिक द्वन्द्व चलिरहेको अफगानमा द्वन्द्व अन्त्यका लागि प्रयासहरु भइरहेपनि टुंगीन सकेको छैन।
द्वन्द्वका कारण अहिलेसम्म हजारौँको मृत्यु भएको छ भने लाखौँ विस्थापित भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।