काठमाडाैं- अमेरिकी राष्ट्रपति जो वाइडेनले अफगानिस्तानको सुरक्षा अवस्थालाई ध्यानमा राख्दै शरणार्थीहरूका लागि १० करोड डलरको आपत्कालीन कोष अनुमोदन गरेका छन्।
शुक्रबार ह्वाइट हाउसले उक्त आपत्कालिन कोष अनुमोदन गरिएको जानकारी दिएको हो। यसबाहेक राष्ट्रपति वाइडेनले अमेरिकी सरकारको एजेन्सीहरुलाई यसै उद्देश्यका लागि २० करोड डलर अनुमोदन गरेका छन्।
१० करोड डलरको आपत्कालीन कोषबाट विशेष भिसाका अफगानी आवेदकहरूलाई अमेरिका लैजान सहयोग पुर्याइने जनाइएको छ।
वाइडेन प्रशासनका अधिकारीहरुका अनुसार १८ हजार अफगानी नागरिकले विशेष भिसाका लागि आवेदन दिएका छन्। तीमध्ये केही अफगानीलाई लैजाने तयारी सुरु गरिरहेको छ।
सन् २००१ मा अमेरिकाले अफगानिस्तानमा आक्रमण गर्दा यी अफगानीहरूले अमेरिकी सरकारका लागि दोभाषे र अन्य कामहरू गरेका थिए। उनीहरु अहिले तालिवानबाट असुरक्षित रहेको बताइएको छ।
यी अफगानी शरणार्थीहरूको पहिलो टोली जुलाईको अन्त्य हुनुअघि भर्जिनिया पुग्नेछन्।
रक्षा विभागले सोमबार करिब २५ सय अफगान सुरक्षाकर्मीलाई भर्जिनिया ल्याउन सकिने बताएको थियाे। वाइडेन प्रशासनले अन्य स्थानहरू पनि उनीहरुलाई राख्ने जनाएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।