चरिकोट- नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिड-१९ को महामारीबाट संकटमा परेको पर्यटनलगायत सम्पूर्ण व्यवसायलाई पुनः लयमा ल्याउन खोप अनिवार्य भएको बताएका छन्। शनिबार दोलखाको चरिकोटमा होटल एम्ब्रोसियाको उद्घाटन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले निजी क्षेत्रलाई खोपको प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरे।
‘संकटमा परेको मुलुकको अर्थतन्त्रलाई पुनरुत्थानका लागि व्यवसाय र व्यावसायिक गतिविधिहरूलाई चलायमान बनाउन जरुरी हुन्छ। यसका लागि अहिलेलाई खोप नै प्रमुख उपाय देखिएको छ। त्यसैले नयाँ सरकारसँग मेरो अनुरोध छ, छिटोभन्दा छिटो सबै जनतालाई खोपको व्यवस्था गरौँ,’ उनले भने।
कोभिडपछि नेपालको पर्यटन व्यवसाय तहसनहस बनेको बताउँदै ग्लोबल आईएमई बैंकका अध्यक्षसमेत रहेका ढकालले हालै मात्र बैंकले वार्षिक/अनिवार्य बिदा लिने बैंकका कर्मचारीहरूले कम्तीमा सात दिन आन्तरिक पर्यटकीय स्थलहरूमा अनिवार्य रूपमा भ्रमण गर्नुपर्ने व्यवस्था गरेको बताए।
‘कोभिडको महामारी कम नभइ तत्कालका लागि विदेशी पर्यटक आउने सम्भावना पनि कम रहेकोले अहिलेको परिस्थितिलाई मध्यनजर गर्दै बैंकले यो योजना ल्याएको हो। कोभिड-१९ को महामारीका कारण पूर्णरूपमा प्रभावित पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न तत्कालका लागि आन्तरिक पर्यटकको खाँचो रहेको छ,’ उनले भने। राज्यले पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेको बताउँदै उनले कर्पोरेट हाउस, बैंक तथा वित्तीय क्षेत्रले पनि यसैगरी आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग गर्न सकेमा नेपालको पर्यटन क्षेत्र लयमा फर्कन धेरै समय नलाग्ने बताए।
दोलखा जिल्लामा लगानीको सम्भावना निकै धेरै रहेको बताउँदै त्यसमा निजी क्षेत्रको छाता संगठनको वरिष्ठ उपाध्यक्षको हैसियतमा वा एक जना लगानीको कर्ताको हैसियतमा जस्तो सुकै तरिकाबाट पनि आफ्नो सहभागिता रहने र त्यस्ता सम्भावित परियोजनाहरूमा आफूले लगानी गर्ने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।