काठमाडाैं- बंगलादेशले कोरोना भाइरस संक्रमणको रोकथामका लागि १४ दिन देशव्यापी लकडाउन घाेषणा गरेकाे छ।
बकर इदका लागि लकडाउन खुकुलाे बनाइएकाे कारण कोरोना संक्रमितहरुको संख्या बढ्ने अनुमान गरिएकाे छ। बकर इद मनाउन ढाकालगायत अन्य सहरी क्षेत्रबाट लाखौं मानिस गाउँ फर्किएका थिए।
सरकारले सबैजनालाई घरभित्रै बस्न आग्रह गरेको छ। यस्तै, कार्यालय, अदालत, कपडा कारखाना र निर्यातमुखी उद्योग बन्द गर्न आदेश दिएको छ।
‘आगामी १४ दिन कडा लकडाउन गर्न आदेश दिइएको छ। पहिलेका लकडाउन जस्तो नभई यसपटक निर्यातमूलक कारखाना पनि बन्द गर्न भनिएको छ। यो पछिल्लो समयभन्दा कडा लकडाउन हो,’ लोक प्रशासन मामिलामन्त्री फरहाद हुसेनले भने।
लकडाउन लागु गराउनका लागि सेना र प्रहरी राजधानी ढाकासहित अन्य सहरका सडकमा उत्रिएका छन्।
स्वास्थ्य सेवा महानिर्देशकका अनुसार शुक्रबार ६ हजार ३६४ जनामा संक्रमण पुष्टि भएको थियो। यस्तै, १६६ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।