काठमाडाैं- महिनौंदेखि भारतको राजधानी दिल्लीको सीमामा कृषि कानुनको विरोध गर्दै आएका किसानहरु संसद भवनको नजिक पुगेका छन्।
भारतीय सञ्जारमाध्यमहरुका अनुसार दुई सय किसानको टोली उनीहरुकाे नेता राकेश टिकैतको नेतृत्वमा जन्तर मन्तरमा रहेको संसद भवन नजिक पुगेका हुन्।
हरियाणाको सिन्धु सिमानामा प्रदर्शन गरिरहेका यी किसानहरू परिचय पत्र घाँटीमा भिरेर आफ्नो युनियनहरूको झण्डासहित दिल्ली पुगेका थिए। प्रहरीले उनीहरु सवार बसलाई सुरक्षा दिएको थियो।
संसद भवनबाट केही दूरीमा किसानहरुले बिहान ११ बजे धर्ना शुरु गर्ने बताइएको थियो। तर, उनीहरु साढे १२ बजेपछि मात्रै त्यहाँ पुगेका थिए।
किसान नेता शिवकुमार कक्काले प्रहरीले आफूहरु चढेको बसलाई तीन स्थानमा रोकेकाे र आधार कार्ड जाँच गरेकोले ढिला हुन पुगेको जानकारी दिए।
जन्तर मन्तर पुगेपछि किसानहरूले नाराबाजी गरेका थिए र तीनै कृषि कानुन रद्द गर्न सरकारसँग माग गरेका थिए।
नेता टिकैत दिल्ली पुगेर भने, ‘पार्टी जुनसुकै भएपनि किसानहरूले आफ्नै संसद चलाउने छन्। उनीहरूले आलोचनाको सामना गर्नुपर्नेछ, यदि उनीहरूले सभामा आफ्नो इलाकाका किसानको आवाज उठाउँदैनन् भने।’
यसैबीच, सरकारले किसानहरुसँग छलफलका लागि तयार रहेको बताएको छ।
‘हामीले किसानहरुलाई नयाँ कृषि कानुन सम्बन्धी कुरा गरिसकेका छौं। जुनसुकै कानुनको प्रावधान भए पनि कृषकहरुको आपत्ति छ, उनीहरूले हामीलाई भन्नु पर्छ। सरकार अझै पनि किसानहरुसँग छलफल गर्न तयार छ,’ कृषिमन्त्री नरेन्द्र सिंह तोमरले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।