Photo : Fayez Nureldine/AFP
काठमाडाैं- साउदी अरबमा कोरोनाविरुद्धको खोप नलगाएकालाई सार्वजनिक स्थलमा प्रवेश रोक लगाइने भएको छ।
साउदी अरबको नगरपालिका तथा ग्रामीण मामिला मन्त्रालयले सूचना जारी गर्दै आगामी अगस्ट १ देखि काेराेनाविरुद्धकाे खोप नलगाएका व्यक्तिलाई सपिङ मल, बजार, रिटेल पसललगायतका क्षेत्रमा जान प्रतिबन्ध लगाइने जानकारी दिएकाे हाे।
यस्तै, ब्युटी पार्लर, वैवाहिक समारोह तथा पार्टी हल, रेस्टुरेन्ट, पुरुष सैलुनमा जाँदा काेराेनाविरुद्धकाे खोप लगाएको प्रमाण अनिवार्य देखाउनुपर्ने छ।
‘मन्त्रालयद्वारा जनस्वास्थ्यलाई सुरक्षित राख्ने प्रयासस्वरूप सहरी प्रतिष्ठानमा काम गर्ने कर्मचारी र त्यहाँ आउनेले खोप लगाउनुपर्छ,’ मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ।
कोरोना महामारीका कारण यसपटकको हज यात्रा केवल ६० हजारलाई मात्रा आउनका लागि अनुमति दिइएको थियो। त्यो पनि कोरोना खोपको दुवै मात्रा लगाएका साउदी अरबका १८ देखि ६५ वर्ष उमेर स्थानीय नागरिकलाई मात्र अनुमति दिइएको थियो।
साउदी अरबमा अहिलेसम्म करिब २ करोड ३१ लाख मात्र खोप लगाइएको छ। हरेक दिन ३ लाख ५० हजार मात्रा भन्दा बढी कोरोना खोप लगाइएको सरकारले दाबी गरेकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।