काठमाडाैं- अमेरिकी उपविदेश मन्त्री वेन्डी सेरमन र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेट हुने पक्का भएकाे छ।
सम्बन्धमा चिसाेपन आइरहेकाे बेला उनीहरुले चीनको तियानजिन सहरमा २५ जुलाईमा भेटवार्ता गर्न लागेकाे अमेरिकाको विदेश मन्त्रालयले जनाएकाे हाे।
सेरमन अमेरिकाको विदेश मन्त्रालयमा दोस्रो ओहोदाकी हुन्। यस्तै, यी स्टेट काउन्सिलरसमेत हुन्। सेरमन हाल एसिया भ्रमणमा छिन्। उनी एसिया निस्कदै गर्दा चीन भ्रमण तालिकामा थिएन।
उनले बुधबार मात्रै जापानी रक्षामन्त्री र विदेशराज्यमन्त्रीसँग भेटघाट गरेकी थिइन्।
अमेरिकाको विदेश मन्त्रालयले आफूहरूले चीनसँग सिधा छलफल गर्न चाहेको बताएको छ। ‘यस भ्रमणमा सेरमनले अमेरिकाको जायज चासो राख्नेछिन्। चीनका कतिपय गतिविधीबारे पनि उनले अमेरिकाको धारणा राख्नेछिन्,’ अमेरिकी विदेश मन्त्रालयले भनेको छ।
गत मार्चमा अमेरिका–चीनका उच्च अधिकारीहरूबीच अलास्कामा भेटवार्ता भएको थियो।
उक्त भेटमा अमेरिकी टोलीको नेतृत्व विदेशमन्त्री एन्टोनी ब्लिनकेनले गरेका थिए। त्यस्तै, चीनबाट कूटनीतिज्ञ याङ जिएची, विदेशमन्त्री वाङ यी सहभागी थिए। त्यसयता भने दुई मुलुकबीच उच्च तहमा कुराकानी हुन सकिरहेको थिएन।
सेरमनको भ्रमणले अमेरिकी राष्ट्रपति जाे वाइडेन र चीनका राष्ट्रपति सि चिनफिङबीच भविष्यमा भेटवार्ता गराउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
आगामी अक्टोबरको अन्मित साता जि-२० समूहको सम्मेलन हुँदैछ। उक्त सम्मेलमा दुई मुलुकका राष्ट्रपति पनि सहभागी हुनेछन्।
वाइडेन राष्ट्रपतिमा निर्वाचित भइसकेपछि चीन भ्रमण गर्ने सेरमन दोस्रो अमेरिकाकी उच्च अधिकारी बन्नेछिन्। याेभन्दा पहिले राष्ट्रपति वाइडेनका विशेष दूत रहेका जोन केरी चीन पुगेका थिए।
वाइडेन प्रशासनले अघिल्ला राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले लिएको चीन रणनीतिलाई नै अघि बढाएको छ। यस्तोमा अमेरिकाले साउथ चाइना सी र ताइवान र हङकङ लगायतकाे विषयमा चीन चासाे दिँदै आएकाे छ।
तर, चीनले भने आफ्नाे आन्तरिक मामिलामा हस्तक्षेप नगर्न आग्रह गर्दै आएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।