काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्री जनार्दन शर्माले देशको अर्थतन्त्रलाई उकास्न महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्।
बुधबार नेपाल उद्योग परिषसंघको १८औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै देउवाले अर्थमन्त्री शर्माले नेपालको अर्थतन्त्रलाई सुधार गर्ने विश्वास व्यक्त गरे। प्रधानमन्त्री देउवाले मेहनती र भिजन भएको नेता भन्दै शर्माको प्रशंसा पनि गरे।
'हाम्रो अर्थमन्त्री अत्यन्त मेहनेती हुनुहुन्छ, उहाँप्रति विश्वास छ मलाई। नेपालको अर्थतन्त्रलाई उहाँले पहिलेको भन्दा माथि उठाएर आर्थिक अवस्थामा सुधार गर्नुहुनेछ भन्ने विश्वास छ मलाई,' देउवाले भने, 'उहाँले सक्नुहुन्छ पनि। अत्यन्तै मेहनती हुनुहुन्छ, भिजन पनि भएको व्यक्ति हो उहाँ ।'
प्रधानमन्त्री देउवाले कोरोना भाइरसको महामारीबाट मुक्त हुनका लागि निजी क्षेत्रको सहयोग आवश्यक पर्ने बताए।
'कोभिडको जुन समस्या छ, त्यसको समाधानका निम्ती नेपालका उद्योगपतिहरु, व्यपारीहरुले सहयोग गर्नुपर्छ। म हार्दिक अनुरोध र आव्हान गर्न चाहन्छु,' देउवाले भने, 'सरकारको कर्तव्य हो, गर्नै पर्दछ । साथ साथै तपाई (उद्योगी व्यापारी)हरुले पनि हातेमालो गर्दिनुभयो भने हामी छिट्टै यो महामारीबाट मुक्त हुनसक्छौं भन्ने मेरो आशा छ।'
प्रधानमन्त्री देउवाले निजी क्षेत्रका व्यवसायीसँगै सबै जनतालाई नि:शुल्क खोप उपलब्ध गराउन सरकार प्रतिवद्ध रहेको पनि बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।