काठमाडौं– आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि नेपाल उद्योग परिसंघले अघि बढाएको ‘मेक इन नेपाल स्वदेशी अभियान’ कार्यान्वयनमा सरकारले साथ दिने अर्थमन्त्री जनार्दन शर्माले बताएका छन्।
आइतवार नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलसँगको भेटमा अर्थमन्त्री शर्माले आफ्नो प्राथमिकता पनि आत्मनिर्भर अर्थतन्त्र निर्माण रहेको बताउँदै निजीक्षेत्रले अघि बढाएको अभियानमा आफ्नो साथ रहने उल्लेख गरे।
अर्थमन्त्री शर्माले आर्थिक विकास, रोजगारी सृजना र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि निजी क्षेत्रलाई सधैं साथमा लिएर अघि बढ्ने बताए। औद्योगिक वातावरण सृजनाका लागि निजी क्षेत्रलाई सहयोग गर्न आफू सधैं तयार रहेकोसमेत उनको भनाइ थियो।
आफू निजी क्षेत्रबाट रचनात्मक सुझाव र सल्लाह लिएर अघि बढ्ने जनाउँदै मन्त्री शर्माले कोभिड – १९ को महामारीले अर्थतन्त्रमा परेको प्रभाव न्यूनीकरण गर्दै अघि बढ्न सरकारलाई निजीक्षेत्रको सहयोग आवश्यक पर्ने उल्लेख गरे।
असल औद्योगिक सम्बन्धसहितको लगानीयोग्य वातावरण सृजना आफ्नो प्राथमिकतामा रहेको सो अवसरमा मन्त्री शर्माले बताए।
परिसंघका अध्यक्ष सतिशकुमार मोरले अर्थमन्त्री शर्मालाई बधाई दिंदै सबै नेपाली नागरिकलाई खोप र आर्थिक पुनरोत्थान आजको प्रमुख आवश्यकता भएको बताए।
कोभिडले आत्मनिर्भर अर्थतन्त्र निर्माणको आवश्यकता बोध गराइदिएको भन्दै उनले त्यसलाई वास्तविकतामा परिणत गर्न नेपाल उद्योग परिसंघले मेक इन नेपाल – स्वदेशी अभियान सञ्चालन गरेको जानकारी गराए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।