काठमाडाैं- गएको आर्थिक वर्ष २०७७/७८ मा विनियोजित बजेटबाट ११ खर्ब ८० अर्ब रुपैयाँ खर्च भएको अर्थ मन्त्रालयले जानकारी दिएको छ। शुक्रबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थसचिव शिशिरकुमार ढुंगानाले उक्त जानकारी दिएका हुन्।
‘आर्थिक वर्ष ०७७/७८ को लागि हामीले कूल १४ खर्ब ७४ अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेको थियौं। मध्यावधि समीक्षा गर्दा त्यसलाई १२ खर्ब ६६ अर्ब रुपैयाँको संशोधित अनुमान गरेका थियाैं,' उनले भने, 'हिजोसम्मको प्रारम्भिक अनुमानअनुसार ११ खर्ब ८० अर्ब रुपैयाँ खर्च भएको छ। यो सुरु अनुमानको ८०.०८ प्रतिशत र संशोधित अनुमानको ९३.२० प्रतिशत हुन आउँछ।’
अर्थसचिव ढुंगानाले चालु खर्चतर्फ आठ खर्ब ५१ अर्ब रुपैयाँ खर्च भएको बताए। बजेटमा चालु खर्चतर्फ नाै खर्ब ४९ अर्ब रुपैयाँ विनियोजन गरिएको थियो। संशोधित अनुमान भने आठ खर्ब ६७ अर्ब रुपैयाँ रहेको थियो।
त्यस्तै पुँजीगत (विकास) खर्चतर्फ तीन खर्ब ५२ अर्ब रुपैयाँ विनियोजन गरिएकोमा मध्यावधि समीक्षामार्फत् लक्ष्य घटाएर दुई खर्ब ५१ अर्ब रुपैयाँमा झारिएको थियो। विनियोजित पुँजीगत बजेटमध्ये दुई खर्ब २८ अर्ब ४८ करोड रुपैयाँ खर्च भएको अर्थसचिव ढुगानाले बताए। उक्त खर्च पुँजीगततर्फ विनियोजित बजेटको करिब ६४.६९ प्रतिशत हो।
यस्तै वित्तीय व्यवस्थापन अन्तर्गत कुल एक खर्ब ७२ अर्ब रुपैयाँ विनियोजन गरिएको (संशोधित एक खर्ब ४५ अर्ब रुपैयाँ)मा कुल एक खर्ब रुपैयाँ मात्र खर्च भएको उनले बताए।
यता राजस्व नाै खर्ब ३८ अर्ब रुपैयाँ संकलन भएको अर्थसचिव ढुंगानाले बताए। गत आवको बजेटमा १० खर्ब ११ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य राखिएकोमा मध्यावधि समीक्षामार्फत संशोधन गरी नाै खर्ब ५९ अर्ब रुपैयाँ कायम गरिएको थियो। तर, संशोधित अनुमानको लक्ष्यसमेत भेट्टाउन नसकेको देखिएको छ।
संकलित राजस्वमध्ये कर आठ खर्ब ७० अर्ब रुपैयाँ र गैरकर राजस्व ६८ अर्ब रुपैयाँ रहेको उनले बताए। त्यसबाहेक अन्य प्राप्तिमार्फत् ४० अर्ब रुपैयाँ स्रोत व्यवस्थापन भएको अर्थसचिव ढुंगानाले बताए।
उनले गत आवमा एक खर्ब ६२ अर्ब ६५ करोड रुपैयाँ वैदेशिक सहायता परिचालन गरिएको जानकारी दिए। आन्तरिक ऋणको सिलिङ दुई खर्ब २५ अर्ब रुपैयाँ रहेकोमा दुई खर्ब २४ अर्ब रुपैयाँ ऋण उठाइएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।