फाइल तस्वीर
काठमाडौं– नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक बस्दै छ। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताको बैठक बोलाएका हुन्।
देउवाले आज २ बजे बस्ने बुढानीलकण्ठस्थित निवासमा बस्ने गरी बैठक बोलाएका छन्। बैठकमा सहभागी हुन पदाधिकारी र पूर्व पदाधिकारीलाई खबर गरिएको छ।
बैठकमा नयाँ सरकारका प्राथमकिता, मन्त्रिपरिषद् विस्तार र आसन्न महाधिवेशनका सन्दर्भमा छलफल हुने बताइएको छ।
कांग्रेसको तल्लो तहको अधिवेशनको मिति फेरि सार्ने तयारइ गरिएको छ। केन्द्रीय महाधिवेशन प्रभावित नहुने गरी तल्लो तहको अधिवेशनको मिति केही समय सार्न लागिएको हो। आज बस्ने शीर्ष नेताहरुको बैठकले सम्भवत: नयाँ कार्यतालिकाबारे निर्णय गर्नेछ।
वडा, गाउँ/नगर, जिल्ला र प्रदेश निर्वाचनको मिति केही दिन पर धकेलिने क्रियाशील सदस्यता छानबिन समितिका प्रवक्ता प्रदीप पौडेलले जानकारी दिए। साउन १२ बाट वडा तहको अधिवेशन गरी तल्लो तहका अधिवेशन सुरु गर्ने कार्यतालिका यसअघि सार्वजनिक गरिएको थियो। तल्लो तहको अधिवेशनको मिति केही दिन पर सार्ने भनिएपनि कति दिन भन्नेबारे खुलाइएको छैन।
क्रियाशील सदस्यता छानबिन समितिले आज (बिहीबार) तोकिएकै समयमा क्रियाशील सदस्यता विवादको काम टुंग्याउने बताएको छ। क्रियाशील सदस्यता विवाद सम्बन्धी उजुरीलाई निष्कर्षमा पुर्याए पनि केही प्राविधिक विषय टुंगिन भने केही दिन लाग्ने समितिले जनाएको छ।
समितिले अब ३२ निर्वाचन क्षेत्रको सदस्यता विवाद टुंग्याउन बाँकी छ। समस्यामा रहेका क्षेत्रको पनि सुरुवाती अध्ययन गरिसकेको समिति प्रवक्ता पौडेलले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।