काठमाडौं- नेपाली कांग्रेसको तल्लो तहको अधिवेशनको मिति फेरि सर्ने भएको छ। केन्द्रीय महाधिवेशन प्रभावित नहुने गरी तल्लो तहको अधिवेशनको मिति केही समय सार्न लागिएको हो। बिहीबार बस्ने शीर्ष नेताहरुको बैठकले सम्भवत: नयाँ कार्यतालिकाबारे निर्णय गर्नेछ।
वडा, गाउँ/नगर, जिल्ला र प्रदेश निर्वाचनको मिति केही दिन पर धकेलिने क्रियाशील सदस्यता छानबिन समितिका प्रवक्ता प्रदीप पौडेलले जानकारी दिए। साउन १२ बाट वडा तहको अधिवेशन गरी तल्लो तहका अधिवेशन सुरु गर्ने कार्यतालिका यसअघि सार्वजनिक गरिएको थियो। तल्लो तहको अधिवेशनको मिति केही दिन पर सार्ने भनिएपनि कति दिन भन्नेबारे खुलाइएको छैन।
क्रियाशील सदस्यता छानबिन समितिले भोलि (बिहीबार) तोकिएकै समयमा क्रियाशील सदस्यता विवादको काम टुंग्याउने बताएको छ। क्रियाशील सदस्यता विवाद सम्बन्धी उजुरीलाई निष्कर्षमा पुर्याए पनि केही प्राविधिक विषय टुंगिन भने केही दिन लाग्ने समितिले जनाएको छ।
समितिले अब ३२ निर्वाचन क्षेत्रको सदस्यता विवाद टुंग्याउन बाँकी छ। समस्यामा रहेका क्षेत्रको पनि सुरुवाती अध्ययन गरिसकेको समिति प्रवक्ता पौडेलले जानकारी दिए।
धेरै विवाद देखिएका र छानबिन समितिले टुंग्याउन नसकेका निर्वाचन क्षेत्रको क्रियाशील सदस्यता विवादमा १३औं महाधिवेशनकै क्रियाशील सदस्य यथावत रहने समितिले यसअघि नै जानकारी दिइसकेको छ। त्यस्ता विवादित ५७ वटा वडा रहेको र ती वडामा नयाँ क्रियाशील सदस्यताको विषय स्थगित भएको समितिले जनाएको छ।
दुई जिल्ला सिन्धुपाल्चोक र रसुवाका तीन निर्वाचन क्षेत्रको नयाँ क्रियाशील सदस्यता पनि स्थगित भएको छ। त्यसका बारेमा पनि एक चरण समितिले छलफल गर्नेछ र त्यहाँ टुंगिन नसके पदाधिकारी र पूर्वपदाधिकारीसम्म लैजाने छ। पदाधिकारी र पूर्वपदाधिकारीले पनि यो विषय टुंग्याउन नसकेको अवस्थामा १३औं महाधिवेशकै क्रियाशील सदस्य यथावत रहनेछन्। विवाद नै टुंग्याउन नसकेको अवस्थामा क्रियाशील सदस्यताको करिब १ प्रतिशत संख्या मात्रै १४औं महाधिवेशनमा सहभागी हुनबाट बञ्चित हुनेछन्।
यस्तै, कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि कांग्रेसभित्र महाधिवेशनका गतिविधि नै सुस्ताएका छन्। यसले कतै कांग्रेस महाधिवेशन निर्वाचनबाट नभइ सहमतिमै हुने हो कि भन्ने आशंका पनि छ। सबैभन्दा ठूलो र महत्त्वपूर्ण विषय क्रियाशील सदस्यताको नामावली भएकाले यसलाई टुंगोमा पुर्याए महाविधेशनको करिब ५० प्रतिशत काम सकिने पौडेल बताउँछन्। कांग्रेसको केन्द्रीय महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने कार्यतालिका छ।
नेपाली कांग्रेसको नेतृत्वमा सरकार बने पनि महाधिवेशनको विकल्प नभएको अर्का नेता मीन विश्वकर्माले बताए। तोकिएको समयमै महाधिवेशन हुने उनले दाबी गरे। निर्वाचन हुने स्थिति बनिसकेकाले कांग्रेस नेतृत्व सहमतिबाट चयन हुन नसक्ने दाबी नेताहरुको छ।
विधिअनुसार निर्वाचन हुँदा जो कोही व्यक्ति हार्न तयार हुने तर, पहुँचको आधारमा सहमतिबाट नेतृत्व चयनतर्फ लाग्यो भने त्यसले झनै असहमति निम्त्याउँने पौडेलको बुझाइ छ। संवैधानिक बाध्यता र अर्कोतर्फ क्रियाशील सदस्यताको विवाद पार लाग्ने भएकाले महाधिवेशन नरोकिने धेरैको बुझाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।