काठमाडाैं- निजी क्षेत्रका छाता संस्थाहरुले सरकारले हालै वृद्धि गरेको न्यूनतम पारिश्रमिक सबै तहका श्रमिक कामदारको पारिश्रमिकमा लागू नहुने बताएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श र नेपाल उद्योग परिसंघले मंगलबार संयुक्त अपिल जारी गर्दै उक्त जानकारी दिएका हुन्। न्यूनतम पारिश्रमिकको कार्यान्वयन एवं उद्योग व्यवसाय सञ्चालनको लागि सहज वातावरण बनाइराख्न भन्दै उनीहरुले संयुक्त अपिल जारी गरेका हुन्।
'नेपाल सरकारबाट चिया बगानबाहेकका प्रतिष्ठानमा काम गर्ने श्रमिकहरूको लागि हाल कायम रहेको न्यूनतम पारिश्रमिक १३ हजार ४५० रुपैयाँमा पुनरावलोकन गरी २०७८ साउन १ गतेदेखि लागू हुनेगरी न्यूनतम तलब नाै हजार ३८५ रुपैयाँ र महँगी भत्ता पाँच हजार ६१५ रुपैयाँसमेत गरी १५ हजार रुपैयाँ न्यूनतम पारिश्रमिक निर्धारण गरिएको सबैमा विदितै छ,' संयुक्त विज्ञप्तिमा भनिएको छ, 'सरकारले हाल निर्धारण गरेको न्यूनतम पारिश्रमिक, पारिश्रमिक वृद्धि नभइ न्यूनतम पारिश्रमिकको दरको वृद्धि मात्र हो। यसरी न्यूनतम पारिश्रमिकमा भएको वृद्धि सबै तहका श्रमिक कामदारको पारिश्रमिकमा वृद्धि नभएको स्पष्ट पार्न चाहान्छौं।'
न्यूनतम पारिश्रमिकभन्दा माथिको पारिश्रमिक प्रतिष्ठानले आफ्नो आर्थिक अवस्था अनुसार तय गर्ने हुँदा न्यूनतम पारिश्रमिकमा भएको वृद्धि रकम सबैले पाउनुपर्छ भन्ने नहुने विज्ञप्तिमा उल्लेख छ।
'कोरोना महामारीबाट उत्पन्न विषम् र असहज परिस्थितिका कारण सम्पूर्ण उद्योग व्यवसायले ठूलो नोक्सानी व्यहोर्नुपरेको अहिलेको अवस्थामा उद्योग र रोजगारी दुवैको बचाउ गर्नु पहिलो आवश्यकता हो। यसर्थ संकटग्रस्त र थलिएका उद्योग व्यवसायको पुनरूत्थान र पूर्ववत् अवस्थामा फर्काउन सम्पूर्ण श्रमिकहरूले समझदारीका साथ थप प्रयास गर्नुको विकल्प छैन,' विज्ञप्तिमा उल्लेख छ।
औद्योगिक शान्ति कायम गरी विद्यमान कठिन परिस्थितिबाट चाँडो बाहिर निस्कन तथा निर्वाधरूपमा उद्योग व्यवसाय सञ्चालन गर्ने वातावरण बनाइराख्ने काममा सहयोग पुर्याउन सम्पूर्ण श्रमिकसहित सबैमा अपिल गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।