काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरिएको सन्दर्भमा राष्ट्रपति कार्यालय शीतल निवासले जारी गरेको विज्ञप्तीप्रति आपत्ति जनाएका छन्।
प्रवक्ता शर्माले 'अब थोरै सच्चिएर सहकार्य' गर्नुपर्ने भनेर राष्ट्रपति विद्यादेवी भण्डारीको ध्यानाकर्षण समेत गराएका छन्।
सर्वोच्च अदालतको फैसलाले 'सरकार बदल्न' मात्र नभएर 'संरक्षकलाई बदलिन' समेत आदेश दिएको शर्माको भनाइ छ।
'अब थोरै सच्चिएरै सहकार्य गरौं सम्माननीय रास्ट्रपतिज्यु। पत्र सच्चिनेको कुरा मात्रै होइन, प्रवृति सच्चिने प्रधान कुरा हो!' शर्माले सामाजिक सञ्जालमा भनेका छन्, 'सर्वोच्च फैसलाले 'सरकार बदल्न' मात्र होइन, यहाँ 'संरक्षकलाई बदलिन' समेत आदेश दिएको बिषयलाई विनम्रसँग आत्मसात गरौं।'
राष्ट्रपति विद्यादेवी भण्डारीले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्दा संविधानको धारा उल्लेख नगरी 'सर्वोच्च अदालतको फैसला बमोजिम' प्रधानमन्त्री नियुक्त गरेको भनेर राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गरेपछि विरोध भइरहेको छ।
कानुनविद्हरुले समेत संविधानको धारा उल्लेख नगरी प्रधानमन्त्री नियुक्त गरिनुमा राष्ट्रपतिको 'नियत' देखिएको भनेर टिप्पणी गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।