फाइल तस्बिर काठमाडाैं- केपी शर्मा ओली नेतृत्वको सरकारको बहिर्गमनसँगै सिंहदरबारबाट मन्त्रीहरुको बिदाइ गरिएको छ।
सिंहदरबारमा मंगलबार अपरान्ह उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको बिदाइ भएको छ। अर्थ मन्त्रालयमा दोस्रोपटक मन्त्रीको रुपमा आएका पौडेलले आफ्नो कार्यकाल सफल भएको बताएका छन्। आफूले निष्ठापूर्वक काम गरेकोले सन्तुष्ट हुँदै बिदा भएको उनले बताए।
कार्यभार सम्हाल्ने समयमा चुनौतीको चाङ रहेको स्मरण गर्दै मन्त्री पौडेलले कर्मचारीको सहयोगले सहजताका साथ काम गरेको बताए। अर्थमन्त्री पौडेलले सरकारमा आउने-जाने काम निरन्तर हुने हुँदा अनौठो मान्न नहुने धारणा राखे।
यस्तै सिंहदरबारबाट भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङको पनि बिदाइ गरिएको छ। भौतिक पूर्वाधारमन्त्री नेम्वाङले आफूले चाहेजस्तै गरी कर्मचारीहरुको सहयोग पाएका कारण राष्ट्र र जनताप्रतिको दायित्व पूरा गर्न सकेको बताए। कर्मचारीहरुकै साथका कारण आफूले मन्त्रालयको शाख गिर्न नदिएको उनको भनाइ थियो।
उनले ओली नेतृत्वको सरकारले विकास निर्माणको कामलाई तीव्रता दिएको पनि उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।