तस्बिर: एजेन्सी
काठमाडाैं- रेष्टुरेण्ट एण्ड बार एसोसिएसन नेपालले रेष्टुरेण्ट तथा बार व्यवसायलाई पुनरुउत्थानक लागि ५० लाख रुपैयाँसम्म सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन माग गरेको छ।
सोमबार पत्रकार सम्मेलन गर्दै एसोसिएसनले कोभिड-१९ का कारण पर्यटन क्षेत्रमा धेरै असर परेको र पर्यटन क्षेत्रभित्र पर्ने रेष्टुरेण्ट तथा बार व्यवसायलाई पनि अत्यन्तै असर परेको भन्दै यस व्यवसायलाई पुनरुउत्थान गर्न कम्तीमा एक पटकको लागि बिनाधितो ५० लाख रुपैयाँसम्मको सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन माग गरेको हो।
त्यस्तै बैंकहरुबाट लिइएको ऋणको ब्याज र किस्ता व्यवसाय पूर्णरुपमा सञ्चालन नभएसम्म कम्तीमा तीन वर्षका लागि थप गर्न तथा निजी आवास निर्माणका लागि लिएको ऋणको ब्याजदरलाई सहुलियतदर र तिर्ने पुनर्तालिकीकरणका लागि बैंकहरुसँग समन्वय गरिदिन पनि एसोसिएसनले माग गरेको छ।
यसैगरी बैंकहरुले गर्ने लगानीको निश्चित प्रतिशत रकम पर्यटन क्षेत्रमा अनिवार्य रुपमा लगानी गर्ने कार्यविधि बनाउन र रेष्टुरेण्ट क्षेत्रमा आश्रित कर्मचारीहरुको जीविकोपार्जनका लागि कम्तीमा तीन लाख रुपैयाँसम्म सहुलियतपुर्ण ब्याजदरमा घरायसी कर्जा उपलब्ध गराउन पनि माग गरेको रेष्टुरेण्ट एण्ड बार एसोसिएसन नेपालका कोषाध्यक्ष नरेशध्वज श्रेष्ठले जानकारी दिए।
एसोसिएसनले रेष्टुरेण्टमा पस्कने खानाको कच्चा पदार्थ पूर्णरुपमा कृषि उपज हुने भएको र अधिकांश स्वदेशी उत्पादन नै हुने भन्दै १३ प्रतिशत मूल्य अभिवृद्धि कर खारेज गर्न पनि माग गरेको छ। सरकारले कर्मचारीलाई १० दिनको आन्तरिक भ्रमणमा जान दिई अतिरिक्त तलबभत्ता उपलब्ध गराउने हुँदा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरुलाई पनि आन्तरिक भ्रमणमा पठाउने व्यवस्था गर्नसमेत एसोसिएसनले माग गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।