काठमाडाैं- भाडा समायोजन र कोभिड-१९ विरुद्धको खोप लगाउन पाउनुपर्ने लगायतका सुात बुँदे माग राख्दै यातायात व्यवसायीहरुले यातायात व्यवस्था विभागमा धर्ना दिएका छन्।
यातायात व्यवसायीहरुले यातायातसँग सम्बन्धित व्यक्तिहरुलाई कोभिड-१९ विरुद्धको खोप लगाइनुपर्ने, यातायातको भाडा समायोजन गर्नुपर्ने र मौद्रिक नीतिमा व्यवसायीको समस्यालाई समावेश गरिनुपर्ने लगायतका सात बुँदे माग राख्दै मंगलबार विभागको कार्यालयमा धर्ना दिएका हुन्।
व्यवसायीले यातायातको बिमा छुट समायोजन गर्नुपर्ने, सडक कानुन लागू गर्नुपर्ने, यातायातको कागजपत्र नवीकरण र जरिवाना छुट गर्नुपर्ने तथा ढुवानी यातायातको वर्तमान नीति पुनरावलोकन गर्नुपर्ने पनि माग गरेका छन्। आफूहरुको माग सम्बन्धित सरोकारवाला विभिन्न निकायसमक्ष पटक-पटक राख्दा पनि सम्बोधन नभएकाले आन्दोलनमा आउनुपर्ने बाध्यता भएको सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका अध्यक्ष दोलनाथ खनालले बताए। उनले सरकारले यातायात व्यवसायीको समस्या समयमै बुझेर सम्बोधन गर्नुपर्ने पनि बताए।
यातायात व्यवसायीले लकडाउनको कारण व्यवसाय नै धरापमा परेको भन्दै सरकारले विशेष राहत दिनुपर्ने बताउँदै आएका छन्। धर्नाका क्रममा नारावाजीसमेत गरेका थिए। उनीहरुले 'आम्दानी छैन बैंक किस्ता र राजस्व तिर्ने छैन', 'बैंकको ज्यादती बन्द गर', 'निषेधाज्ञा अवधिभरको बिमा पूर्णरुपमा छुट गर' लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।