काठमाडौं- नेकपा एमालेनिकट राष्ट्रिय युवा संघले सर्वोच्च अदालतको फैसलाविरुद्ध आन्दोलन घोषणा गरेको छ। सोमबार अदालतले प्रतिनिधि सभा विघटनका विषयमा गरेको फैसला देशको लागि घातक फैसला रहेको ठहर गर्दै आन्दोलन गर्ने निर्णय गरेको हो।
संघका अध्यक्ष किरण पौडेलले फैसलाविरुद्ध जुध्न युथफोर्ससमेत ब्युँताउँदै प्रतिवाद गर्ने निर्णय गरिएको बताए। उनले भने, ‘आफ्नो शरीरमा एक थोपा रगत रहेसम्म लडिरहनेछौं। कुनै पनि हालतमा हामीलाई फैसला स्वीकार्य छैन।’
अदालतले गरेको फैसला असंवैधानिक, गैरन्यायिक फैसला, नेपाली जनता र युवा र देशको भविष्यको निम्ति खतरा रहेकोसमेत अध्यक्ष पौडेलले बताएका छन्। उनले भने, ‘यसले द्वन्द्व, अस्थिरता र राजनीतिक भ्याकुम निर्माण गर्ने देखिन्छ।’
देशको हित नचाहने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तत्त्वले उक्त फैसला गराएको भन्दै देशलाई अविछिन्न आन्दोलनको रणभूमि बनाउने डिजाइन भएको उनले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।