काठमाडौं- नेकपा एमालेनिकट राष्ट्रिय युवा संघले ‘राजनीतिक र वैचारिक प्रतिवाद’ गर्न भन्दै युथ फोर्स ब्युँताउने गर्ने निर्णय गरेको छ। मंगलबार बसेको केन्द्रीय कमिटी बैठकले उक्त फैसलाको प्रतिवाद गर्ने निर्णय गर्दै युथ फोर्सलाई ब्युँताउने निर्णय गरेको छ।
अध्यक्ष किरण पौडेलले युथ फोर्सका लागि ५०१ जनाको केन्द्रीय कमान्ड घोषणा गरेका छन्। प्रदेश, जिल्ला र पालिका तहमासमेत गरी एक हप्तामा ५० हजार युवालाई युथ फोर्स बनाउने तयारी गरिएको छ।
बैठकलाई सम्बोधन गर्दै युवा संघका पूर्वअध्यक्षसमेत रहेका सांसद महेश बस्नेतले पार्टीमाथि हुने वैचारिक र राजनीतिक आक्रमणलाई प्रतिवाद गर्न युथ फोर्स ब्युँताउनुपरेको बताए। उनले भने, ‘नसम्झिएका मान्छेलाई सम्झाउन युथफोर्स ब्युँताएका छौं।’
ब्युँतिएको युथफोर्स प्रमुखमा वरिष्ठ उपाध्यक्ष क्षितिज थेवे र उपप्रमुखमा पुष्प श्रेष्ठ चयन भएका छन्।
२०६५ सालमा तत्कालीन नेकपा माओवादीको वाईसीएलसँग प्रतिवाद गर्न तत्कालीन युवा संघका कोषाध्यक्ष बस्नेतको नेतृत्वमा युथ फोर्स गठन गरिएको थियो।
यसले आगामी केन्द्रीय कमिटी बैठकमा स्वयंसेवकीय भूमिका निर्वाह गरेर काम थाल्ने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।