काठमाडौं- सर्वोच्च अदालतले सोमबार संसद पुन: स्थापना गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिलाई परमादेश जारी गर्यो।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले विघटन सम्बन्धी सबै निर्णय बदर गर्दै नयाँ प्रधानमन्त्रीको रुपमा देउवालाई मंगलबार बेलुका ५ बजेभित्र नियुक्त गर्न परमादेश जारी गरेको थियो।
प्रधानमन्त्री केपी शर्मा ओलीको हरेक कदममा साथ दिँदै आएकी राष्ट्रपति विद्यादेवी भण्डारीले अदालतको आदेश अनुसार देउवालाई शपथ नगराउने हो कि भन्ने आशंका व्यक्त भइरहेका थिए। प्रधानमन्त्री ओली पक्षका नेता कार्यकर्ताले अदालतको आदेश लगत्तै सडक आन्दोलन थाले जसका कारण राष्ट्रपतिले देउवालाई शपथ नगराउने हो कि भन्ने आशंका आमरुपमा देखिएको थियो।
सामाजिक सञ्जालहरुमा पनि त्यस्तै आशंकाहरु व्यक्त भइरहेका थिए।
राष्ट्रपतिले शपथ नै नगराउने हो कि भन्ने आशंका जारी रहँदा राष्ट्रपतिका सञ्चारविज्ञ टिका ढकालले नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई सोमबार साँझ टेलिफोन गरे। उनले प्रवक्ता शर्मालाई फोन गरेर बाहिर हल्ला आएजस्तो कुनै द्विविधामा नपर्न आग्रह गरेका थिए।
ढकालले शपथको तयारी गरिएको र त्यसबारे सभापति शेरबहादुर देउवालाई जानकारी गराइदिन प्रवक्ता शर्मालाई आग्रह गरे।
ढकाललाई उदृत गर्दै कांग्रेस प्रवक्ता शर्माले भने, 'शपथको तयारी भएको छ। सभापतिलाई जानकारी गराई दिनुहोस्। शपथ गराउने परामर्श भएको छ। बाहिर आएको हल्लाजस्तो कुनै कन्फ्युजन नरहोस्।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।