काठमाडौं- नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक बस्ने भएको छ। सर्वोच्च अदालतले सोमबार संसद पुन: स्थापना गर्दै सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिलाई परमादेश जारी गरेपछि कांग्रेस शीर्ष नेताहरुको बैठक बोलाइएको हो।
सर्वोच्चले आज ५ बजेभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गराउन परमादेश जारी गरेकोले शपथको समय अनुसार बैठक राखिने नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। शपथको समय ढिलो भए कांग्रेस शीर्ष नेताको बैठक बस्ने उनले बताए।
२ बजे शीर्ष नेताको बैठक बोलाइएको जानकारी दिँदै उनले शपथ त्यस अघि भए उक्त बैठक बस्न नसक्ने बताए। सभापतिबाहेक पदाधिकारी र पूर्व पदाधिकारी बस्नेबारे पनि छलफल भइरहेको शर्माको भनाइ छ।
'शपथ ढिलो भयो भने सभापतिसहितको बैठक बस्छ। शपथ ४ बजे पछि भयो भने दुई बजे बोलाइएको बैठक बस्छ' प्रवक्ता शर्माले नेपाल लाइभसँग भने, 'शपथको समय कुरिरहेका छौं। समय निर्धारण भएपछि बैठक बस्ने/ नबस्ने टुङ्गो लाग्नेछ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।