काठमाडौं- नेकपा एमालेका नेता प्रभु साहले माओवादी केन्द्र खारेजीको मागसहित दर्ता भएको निवेदन खारेज गर्ने निर्वाचन आयोगको निर्णय असंवैधानिक भएको टिप्पणी गरेका छन्।
नेकपा माओवादी केन्द्र अवैधानिक रहेको दाबीसहित पेस भएको निवेदन आइतबार निर्वाचन आयोगले खारेज गरिदिएपछि नेता साहले आयोग जस्तो संवैधानिक संस्थाले कुनै अमुक व्यक्ति/समूहको प्रभावमा परि संविधानको मर्म र भावना विपरीतको निर्णय लिनु आफैंमा अप्रत्याशित एवं अशोभनीय भएको टिप्पणी गरेका छन्।
पर्याप्त आधारहरु निवेदकको मागदावीमा स्पष्ट उल्लेख हुँदाहुँदै आयोगले असंवैधानिक निर्णय गरेको उनको आरोप छ।
अवैध संस्थाले लोकतान्त्रिक विधि एवं प्रक्रियाबाट प्रत्यक्ष जननिर्वाचित वैध प्रतिनिधिहरुमाथि उल्टै कारबाहीको स्वेच्छाचारी डण्डा बर्साएको उनले उल्लेख गरेका छन्।
साहले सामाजिक सञ्जालमा लेखेका छन्, 'कम्तिमा ५ वर्षभित्र महाधिवेशन गर्नुपर्ने बाध्यकारी संवैधानिक व्यवस्थाका बावजूद माओवादीको २०६९ को महाधिवेशन पश्चात हालसम्म पनि कुनै अद्यावधिक महाधिवेशन नभएको, विधिसम्मत तरीकाले नयाँ दलको रुपमा दर्तासमेत नभएको (०७३ मा बिना महाधिवेशन अवैध रुपमा नाम मात्र परिवर्तन भएको), देशको संविधान(विधि) र आफ्नै पार्टीको विधान विपरीत केन्द्रीय कमिटी तथा पर्टीको विधानमा थपघट/छेडछाड गर्दै आएको, अलोकतान्त्रिक एवं अवैध व्यक्ति/संस्थाले लोकतान्त्रिक विधि एवं प्रक्रियाबाट प्रत्यक्ष जननिर्वाचित वैध प्रतिनिधिहरुमाथि उल्टै कार्यवाहीको स्वेच्छाचारी डण्डा बर्साउदै आएको जस्ता पर्याप्त आधारहरु निवेदकको मागदावीमा स्पष्ट उल्लेख हुँदाहुँदैं घामझैं छर्लङ्ग विषयमा पनि निर्वाचन आयोग जस्तो संवैधानिक संस्थाले कुनै अमुक व्यक्ति/समुहको प्रभावमा परी संविधानको मर्म र भावना विपरीतको निर्णय लिनु आफैंमा अप्रत्याशित एवं अशोभनीय विषय हो।'
आयोगको असंवैधानिक एवं अशोभनीय निर्णयको चौतर्फी रुपमा भण्डाफोड़ गरी राजनीतिक एवं कानुनी प्रतिवाद गर्न जरूरी रहेको उनले उल्लेख गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।