काठमाडाैं- नेकपा (एमाले) एकता कार्यदलको वरिष्ठ नेता माधवकुमार नेपालपक्षका सदस्यहरु आन्तरिक छलफलमा जुटेका छन्।
कार्यदलको बैठक आज बिहान ८ बजेको लागि तय गरिएको भए पनि उनीहरु बैठकस्थलमा नगइ आन्तरिक छलफलमा जुटेका हुन्।
उनीहरु कोटेश्वरस्थित वरिष्ठ नेता नेपालको निवासमा छलफल गरिरहेको जानकारी दिइएको छ।
यता प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीपक्षका सदस्यहरु तोकिएको समयमा नै बैठकस्थल आइपुगेका थिए। नेपालपक्षका कार्यदल सदस्यहरु उपस्थित नभएपछि बैठक सुरु हुन सकेको छैन।
कार्यदलमा पार्टी एकताका लागि शुक्रबार नै सबै विषयमा सहमति भइसकेको बताइएको थियो। शनिबार भाषा मिलाएर सहमति सार्वजनिक गर्ने बताए पनि पुन: आइतबारका लागि सारिएको थियो।
शनिबार सिंहदरबारमा बसेको कार्यदलको बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै अध्यक्ष ओलीपक्षका कार्यदल संयोजक सुवासचन्द्र नेम्वाङले आइतबार बिहान ८ बजे एकताको समाचार सुन्न पाउने बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।