काठमाडाैं- नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्यलाभको कामना गर्न आफ्नो निवासमा आएको बताएका छन्।
एमालेभित्र अन्तिम सहमतिका लागि कार्यदलको बैठक बस्ने तयारी भइरहँदा माओवादी केन्द्रका अध्यक्ष दाहाल शनिबार अपराह्न नेपालनिवास कोटेश्वर पुगेका थिए। उक्त भेटलाई लिएर टिप्पणी हुन थालेपछि वरिष्ठ नेता नेपालले सामाजिक सञ्जालमार्फत् आफ्नो स्वास्थ्यलाभका लागि दाहाल आएको स्पष्टीकरण दिएका हुन्।
'पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल विगत केही दिन यता स्वास्थ्यमा समस्या (जनै खटिरा) आई चिकित्सकको सल्लाह अनुसार घरमै आराम गरिरहनुभएको छ। आज नेकपा माओवादी केन्द्रका अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोटेश्वर निवासमा पुगी उहाँको स्वास्थ्य अवस्थाको वारेमा जानकारी लिनुका साथै स्वास्थ्यलाभको कामना गर्नुभएको छ। उहाँको स्वास्थ्य समस्याका कारण आज संक्षिप्त भेट भएको र अन्य विषयमा कुरा नभएको स्पष्ट पार्दछु,' वरिष्ठ नेता नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।