काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले धोका दिन सक्ने भन्दै चनाखो हुन सुझाव दिएका छन्।
एमाले एकता टुंगोमा पुग्नै लागेका बेला शनिबार वरिष्ठ नेता नेपालको निजी निवास कोटेश्वर पुगेर माओवादी अध्यक्ष दाहालले यस्तो आग्रह गरेका हुन्।
दाहालले प्रधानमन्त्री ओली विश्वासयोग्य नेता नभएको भन्दै उनको भर नपर्न नेता नेपालसँग आग्रह गरेको स्रोतले जनाएको छ।
‘ओलीजी विश्वासयोग्य नेता होइन। जहाँ जतिबेला पनि धोका हुन सक्छ। यसमा चाहिँ ख्याल गर्नुस्’, दाहालले नेपालसँगको भेटमा भनेका थिए।
दाहालले नेपाललाई पाँच दलीय गठबन्धनबाट यताउता नलाग्न समेत आग्रह गरे। दाहाललाई उधृत गर्दै स्रोतले भन्यो, ‘ओलीजीबाट तपाईंहरूलाई फेरि धोका हुन सक्छ, त्यसैले हाम्रो साथ नछोड्नहोस्।’
जवाफमा नेता नेपालले आफू निकटका नेताहरूसँग छलफल गरेर अघि बढ्ने बताएका थिए। नेपालनिकटक स्रोतले भने दुई नेताको भेटबारे विस्तृतमा उल्लेख गर्न चाहेन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।