सांकेतिक तस्बिर काठमाडाैं- नेपाल-भारतबीच रेल सेवा सम्झौताको संशोधनमा हस्ताक्षर भएसँगै वीरगञ्जमा आधारित भएर हुने आयात निर्यात व्यापार देशको अन्य सीमावर्ती सहरमा पुग्ने भएको छ।
शुक्रबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव र भारतका भारतीय रेलवे बोर्डका एडिस्नल मेम्बर सुशान्तकुमार मिश्रले संशोधित सम्झौतामा हस्ताक्षर गरेका छन्। संशोधनमा नेपालले तेस्रो मुलुकसँग हुने व्यापारका लागि भारतीय निजी रेल सेवा उपयोग गर्ने मुख्य विषय समेटिएको छ।
यस्तै सम्झौतामा नेपालमा भारतीय रेलको प्रवेश विन्दु वीरगञ्ज रहेकोमा अब रेल सेवाको पूर्वाधार भएको सीमावर्ती सहरमा पनि आयात-निर्यात व्यापारमा सहज हुनसक्ने सुविधा रहेको मन्त्रालयका प्रवक्ता नारायण रेग्मीले जानकारी दिए।
संशोधन भएको सम्झौतामा भारतीय रेल सेवा सञ्चालनमा ल्याउन अनुमति प्राप्त गरेका सबै किसिमका कन्टेनर/वागनहरु नेपाल लक्षित ढुवानीका लागि उपयोगमा ल्याउन सकिने र निजी सेवा प्रदायकले सञ्चालनमा ल्याएका लोकोमोटिभबाट समेत नेपाल लक्षित ढुवानी गर्न गराउन सकिने व्यवस्था गरिएको प्रवक्ता रेग्मीले बताए।
त्यस्तै नेपाल लक्षित परिवहन कार्गो ढुवानीका लागि नेपाल रेलवे कम्पनीको स्वामित्वमा रहने रेल तथा वागनले वीरगञ्ज र विराटनगरदेखि कोलकाता/हल्दियासम्म रेल सेवा दिन सक्नेगरी सम्झौता संशोधन भएको छ।
हाल वीरगञ्जसम्म रेल सञ्चालन भएकोमा विराटनगर, भैरहवा र नेपालगञ्ज दोधारा चाँदनीलगायतका स्थानमा रेल सेवाको पूर्वाधार तयार भएपछि सेवा उपलब्ध हुने र नेपाल-भारत पारवहन सन्धिमा व्यवस्था भएअनुसार अन्य पारवहन विन्दुमा तथा द्विपक्षीय व्यापार नाकाहरुको सहमतिका आधारमा रेल सञ्चालन हुँदै जाने पनि सहमतिमा व्यवस्था गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।