काठमाडौं- फागुन ११ गते सर्वोच्च अदालतले नेकपाको नाम विवादमा फैसला सुनाउँदै ऋषिराम कट्टेलको पार्टी आधिकारिक भएको फैसला सुनायो। उक्त फैसलाले नेकपा नाममा एकीकृत बनेका दुई पार्टी एमाले र माओवादी केन्द्रलाई ब्युँताइदियो।
पूर्ववत् पार्टी ब्युँतिएसँगै माओवादी केन्द्रका केही नेता र सांसदहरु एमालेतिर प्रवेश गरे। त्यसरी सुरु भएको विवाद पछिल्ला दिनमा माओवादी केन्द्र खारेजीको मागदेखि माओवादी केन्द्र नै आफ्नो पार्टी भएको दाबीसम्म पुगेको छ। सुरुमै गोपाल किराँतीले माओवादी केन्द्र आफ्नो भएको दाबी गरेका थिए।
शुक्रबार यस्तै दाबी गर्दै भविसोर पराजुलीले निर्वाचन आयोगमा निवेदन दिएका छन्। बुधबार माओवादीबाट एमाले प्रवेश गरेका रामबहादुर थापा 'बादल' समूहका केही नेताहरुले माओवादी केन्द्र अवैधानिक भएकाले खारेज हुनुपर्ने भन्दै निवेदन दिएका थिए। उनीहरु त्यसलाई पछ्याउँदै आज पनि निर्वाचन आयोग पुगेका थिए।
पराजुलीले यसअघि प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रमा आफ्नो पार्टी (गौरवशाली) एकता गरेको आधार देखाउँदै पार्टी दाबी गरेका हुन्। उनले पछिल्लो समय प्रचण्ड एमालेमा प्रवेश गर्दै नेकपा भएकोले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) आफ्नो नेतृत्वमा रहेकाले राजनीतिक दलको मान्यता पाउनुपर्ने दाबी गरेका छन्।
पराजुलीले आयोगमा दिएको निवेदनमा ‘नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को आधिकारिक नेतृत्व मातृका यादव, पुष्पकमल दाहाल 'प्रचण्ड' र रामबहादुर थापा 'बादल'हरू पार्टी परित्याग गरेको हुनाले विधिवत् रूपमा एकताका मुख्य घटकको हुनुपर्ने दाबी गरेका छन्। आफूले एकतापछि सोही पार्टीलाई निरन्तरता दिँदै आएकोले माओवादी केन्द्र स्वतः आफ्नो भएको उनको दाबी छ।
निर्वाचन आयोगले उनको निवेदन दर्ता भएको र यसमा के भएको हो अध्ययनपछि जवाफ दिने बताएको छ।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।