काठमाडौं- नेपाली कांग्रेसको काठमाडौं जिल्ला सभापतिका लागि त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ। काठमाडौंमा संस्थापन पक्ष (शेरबहादुर देउवा), संस्थापनइतरका नेता प्रकाशमान सिंह र केन्द्रीय सदस्य भीमसेनदास प्रधान समूहबीच प्रतिस्पर्धा हुने भएको छ।
जिल्लामा तुलनात्मक रुपमा प्रकाशमान सिंह समूह बलियो छ। उनीपक्षीय कृष्ण सबुज बानियाँ सभापतिको उम्मेदवार बन्ने भएका छन्। बानियाँ दोस्रोपटक सभापति बन्नका लागि अघि सरेका छन्।
देउवा पक्षबाट उपेन्द्र कार्की र राजु श्रेष्ठको नाम चर्चामा छ। कार्की काठमाडौं-२ र श्रेष्ठ काठमाडौं-४ का क्षेत्रीय सभापति हुन्। देउवा पक्षबाट कार्की बलियो उम्मेदवारका रुपमा खडा भएका छन्। उनले आफ्नो प्रचार प्रसारलाई पनि तिव्रता दिएका छन्।
काठमाडौंमा जिल्ला सभापति बनाउन नेता भीमसेनदास प्रधानले चासो देखाएका छन्। उनले आफ्नो समूह नै खडा गरेका छन्। प्रधान पक्षबाट गौरी दवाडी र हरिहर अधिकारीको नाम चर्चामा आएको छ। सोही समूहबाट दामोदर खड्का पनि सभापतिको आकांक्षी छन्। भीमसेनदास जिल्ला सभापति हुँदा दवाडी उपसभापति रहेका थिए। महासमिति सदस्य अधिकारी गत निर्वाचनमा टोखा नगरपालिकाको मेयरका प्रत्यासी थिए।
२०७२ सालको जिल्ला अधिवेशनमा देउवा पक्षले सबुज बानियाँलाई सहयोग गरेका थिए। विगतका दुई अधिवेशनमा देउवा समूहको छुट्टै उम्मेदवार थिएनन्। प्रकाशमान सिंह र भीमसेनदास समूह प्रतिस्पर्धामा उत्रने गरेको थियो। यसपटक वडा तहदेखि नै देउवा पक्षले तयारी गरेको छ। देउवा समूह अघि बढेपछि यसपटक त्रिपक्षीय भिडन्त हुने भएको छ।
प्रकाशमान सिंहले आफू पक्षीय संरचना तल्लो तहसम्म बनाएका छन्। सिंह बलियो हुनुको लाभ सभापतिका प्रत्यासी बानियाँले उठाउने छन्। त्रिपक्षीय भिडन्त हुने हुँदा दुई पक्ष नमिली निर्वाचनमा जित निकाल्न कठिन पनि देखिन्छ। संस्थापनइतरकै नेता भएपनि भीमसेनदासले अर्का नेता प्रकाशमान सिंह पक्षलाई भने स्वीर्कान सक्दैनन्।
भीमसेनदासले संसदीय दलको नेतामा सिंहलाई मत नदिएर देउवालाई दिएका थिए।
यस हिसाबले पनि माथिल्लो तहका नेताले जिल्ला अधिवेशन प्रभावित पार्ने सम्भावना छ। सिंह पक्षलाई प्रधानले स्वीकार गर्न सक्दैनन्। अन्तिम चरणमा देउवा पक्ष र प्रधान समूहको साझा उम्मेदवार बन्ने सम्भावना पनि रहेको छ। त्यसबेला बानियाँले दुई समूहसँग प्रतिस्पर्धा गर्नुपर्ने हुनसक्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।