काठमाडौं- निर्वाचनसँग सम्बन्धित निर्देशिका नबनाउँदा कांग्रेसको महाधिवेशन हुने/नहुनेमा अझै पनि नेता कार्यकर्ताले आशंका व्यक्त गरेका छन्।
केन्द्रीय समितिले निर्देशिका पारित गरेपछि मात्रै निर्वाचन समितिलाई वडादेखिको अधिवेशन गराउने बाटो खुल्छ। निर्वाचन सम्बन्धी निर्देशिकामा वडादेखि केन्द्रसम्म प्रत्यासी हुँदा लाग्ने दस्तुर तोकिएको हुन्छ।
कुनै दुई प्रतिस्पर्धीको बराबर मत आएमा कुन विधि अपनाउने पनि निर्देशिकाले किटान गरेको हुन्छ। उम्मेदवार आफैं उपस्थित भएर मनोनयन दर्ता र फिर्ता लिन नसकेको अवस्थामा गरिने विधि पनि निर्देशिकामा उल्लेख हुन्छ। निर्वाचन निर्देशिका केन्द्रीय समितिबाट पारित हुन धेरै समय लाग्ने विषय नभएको नेता गुरुराज घिमिरेले बताए।
वडा तहको अधिवेशन साउन १२ मा तोकिएको छ। त्यसलगत्तै उपल्लो तहको अधिवेशन क्रमशः हुँदै भदौ १६ देखि १९ सम्म केन्द्रीय महाधिवेशनको समय तोकिएको छ।
केन्द्रीय तहमा देखिएको महाधिवेशन हुने/नहुने आशंका तल्लो तहमा पनि व्याप्त छ। क्रियाशील सदस्यता टुंगिएपनि त्यसपछिका प्रक्रिया सुरु नहुने हो कि भन्ने नेता कार्यकर्तामा संशय देखिएको छ। सर्वोच्च अदालतको फैसलापछि मात्रै महाधिवेशन हुने/नहुने निश्चित हुने एक केन्द्रीय नेताले बताए।
महाधिवेशन कार्यतालिका केन्द्रले सार्वजनिक गरेपनि तल्लो तहमा चुनावी सरगर्मी कतिपय ठाउँमा बढेको छैन। जिल्लामा राजनीति तात्न नसकेको नवलपुरका जिल्ला सभापति विष्णु लामिछानेले बताए। जिल्ला सभापतिमा आकांक्षीका बारेमा सोधिएको प्रश्नमा उनले भने, ‘महाधिवेशन होला/नहोला भन्ने आंशका छ। केही दिनपछि मात्रै सभापति दाबी गर्नेहर" देखिएलान्।’
आफ्ना नियमित कार्य नगर्ने र केन्द्रलाई दोष थोपर्ने परम्परा पार्टीमा रहेको नेता घिमिरेले बताए। महाधिवेशन समयमा गराउन आफ्नो दायित्व तल्लो तहले पूरा गर्नुपर्ने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।