काठमाडाैं- सर्वोच्च अदालतले कालीगण्डकी डाइभर्सन बहुउद्देश्यीय परियोजना रोक्न माग गर्दै सर्वोच्च अदालतमा दर्ता भएको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ।
न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले लिखित जवाफ माग गर्दै विपक्षीलाई झिकाएको हो। अधिवक्ताहरु तुलसीराम पोखरेल, रामबहादुर शाही र सन्तोष भण्डारीले रिट दायर गरेका थिए।
शालिग्राम शीला पाइने विश्वकै एकमात्रै नदी कालीगण्डकीको स्वरुप परिवर्तन हुने गरी डाइभर्ट गरेर रुपन्देहीको तिनाउ खोलामा झार्न लागिएको भन्दै उक्त योजना रोकिनुपर्ने रिट दायरकर्ताको मागदाबी थियो।
सर्वोच्चले अन्तरिम आदेशका विषयमा दुवै पक्षको छलफलपछि निर्णय गर्न उपयुक्त भएको भन्दै अर्को बहसमा लिखित जवाफसहित सरकारी पक्षलाई उपस्थित हुन भनेको छ। रिटको अर्को सुनुवाइ साउन ४ गते हुने आदेशमा उल्लेख छ।
निरन्तर प्राकृतिक रुपमा बगिरहेको नदीलाई स्याङजाको गल्याङ नगरपालिका-१ बाट डाइभर्ट गरेर तिनाउ खोलामा झार्ने गरी अगाडि बढाउन लागिएको परियोजनाले गण्डकी प्रदेश र नदीको जलाधार क्षेत्र (राम्दीदेखि देवघाटसम्म)का लाखौं स्थानीय बसिन्दालाई प्रभावित पार्ने रिटमा उल्लेख गरिएको छ।
‘कालीगण्डकी तटीय क्षेत्र राम्दीदेखि पाल्पा, स्याङजा, तनहुँ, देवघाट, चितवन, नवलपरासी, पुट्टा, बुलिङ्गटार, डेढगाउँ, त्रिवेणी लगायत दर्जनौं बस्तीलाई प्रत्यक्ष प्रभाव पार्ने गरी ल्याएको योजना प्रथम दृष्टिमा नै असंवैधानिक र कानुनका मूल्यमान्यताविपरीत छ,’ रिटमा भनिएको छ, ‘कालीगण्डकी डाइभर्सन सिर्फ एक आधुनिक विकासको नाममा चुनावी नारा र दीर्घकालीन धार्मिक नदीमाथिको प्रहार हो।’
रिट निवेदकहरुले भारतीय चाहना र योजनाअनुसार नेपालका नदीको प्राकृतिक धार परिवर्तन गर्न खोजिएको पनि रिटमा दाबी गरेका छन्। ‘भारतको नदी जडान आयोजनाले नेपाललगायत सबै हिमाली क्षेत्रका १४ नदी, डेक्वैन पठारका १८ नदी र भारतअन्तर्गतका ३७ वटा अन्तरप्रदेशीय नदी जडान गर्न खोजिएको छ,’ रिटमा भनिएको छ।
डाइभर्सन परियोजना संघीयताको मर्मविपरीत भएको पनि रिटमा दाबी गरिएको छ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अघिल्लो शनिबार बुटवलमा आयोजित एक कार्यक्रमबीच कालीगण्डकी-तिनाउ डाइभर्सन बहुउद्देश्यीय परियोजनाको कार्यालय उद्घाटन गरेपछि यो परियोजनाको चर्चा चुलिएको छ।
परियोजनाअन्तर्गत कालीगण्डकी नदीको ८० प्रतिशत पानी रुपन्देही तिनाउ नदी (खोला)मा खसाएर लुम्बिनी प्रदेशको एक लाख सात हजार हेक्टर जमिन सिँचाइ गर्ने तथा १२५ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।