काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) अन्तत: औपचारिक रुपमा फुटको संघारमा पुगेको छ। राजनीतिक दल सम्बन्धी ऐनमा भएको व्यवस्था अनुसार निर्वाचन आयोगले मंगलबार दुवै पक्षलाई सहमतिका लागि बोलाएको थियो। तर, आयोगमा भएको छलफलमा दुवै पक्षका नेताहरूले मिल्ने नसकिने र आयोगले कानुन अनुसार काम अघि बढाउन सक्ने भन्दै हस्ताक्षर गरेका छन्।
मिल्न सकिन्नँ भनेर दुवै पक्षका नेताहरूले हस्ताक्षर गरेर आयोगलाई दिएको जसपा नेता अनिल झाले बताए। नेताहरूले आयोगले राजनीतिक दल सम्बन्धी कानुन अनुसार कसलाई आधिकारिता दिन मिल्छ उसैलाई दिनू समेत भनेका छन्।
तर, जसपाका अर्का नेता महेन्द्र राय यादवले भने महन्थ ठाकुर पक्ष आत्मालोचनासहित आए अझैपनि एकताको सम्भावना रहेको प्रतिक्रिया दिए। उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा जानु गल्ती थियो भनेर आत्मालाेचना गर्दै विपक्षी पाँच दलीय गठबन्धनमा सहभागी भए एकता सम्भव रहेको बताए।
यादवले ठाकुरले कार्यकारिणी समितिमा थपेका २० जनाको नाम समेत फिर्ता लिनुपर्ने बताए। जसपाभित्र एकअर्कालाई कारबाही गर्नेसम्मका गतिविधि भएका थिए। छुट्टाछुट्टै गतिविधि गरिरहेका जसपाका दुवै पक्षले आधिकारिता दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएका थिए। त्यसैका आधारमा आयोगले छलफलका लागि दुवै पक्षलाई बोलाएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।