काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)का दुवै पक्षका नेताहरूले आफूहरू मिल्न नसक्ने बताएका छन्। निर्वाचन आयोगले सहमतिका लागि मंगलबार बोलाएपछि आयोग पुगेका नेताहरूले आफूहरु मिल्न नसक्ने बताएका हुन्।
मिल्न सकिन्नँ भनेर दुवै पक्षका नेताहरूले हस्ताक्षर गरेर आयोगलाई दिएको जसपा नेता अनिल झाले बताए। अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरको मिल्ने नसकिने निर्णयमा हस्ताक्षर गरेका छन्। उनीहरूले आयोगले राजनीतिक दल सम्बन्धी कानुन अनुसार कसलाई आधिकारिता दिन मिल्छ उसैलाई दिनू समेत भनेका छन्।
आयोगमा उपेन्द्र यादव पक्षबाट उनीसहित महेन्द्रराय यादव, राजेन्द्र श्रेष्ठ, प्रकाश अधिकारी आयोग पुगेका थिए। महन्थ पक्षका उनीसहित राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण, शरदसिंह भण्डारी, सुरेन्द्र झा, केशव झा आयोग पुगेका थिए।
जसपा अध्यक्ष यादव र ठाकुर दुवै पक्षले एक अर्कालाई कारबाही गरेका छन्। यादवले ठाकुरसहित चार नेतालाई पार्टीबाट निष्कासन गरेका छन्। ठाकुरले पनि यादवलाई पार्टीबाट निष्कासन गरेका छन्।
५१ सदस्यीय कार्यकारिणी समितिका बहुमत सदस्यको हस्ताक्षरसहित कारबाही गरेको पत्र यादवले बुझाएका थिए।
जसपाका ५२ कार्यकारिणी सदस्य (रेशम चौधरीसहित) मध्ये ३१ जना उपेन्द्र-बाबुराम पक्षमा छन्। महन्थ-राजेन्द्र पक्षसँग २१ जना छन्। तर, ठाकुरले पहिलो वरियताका अध्यक्षलाई कार्यकारिणी सदस्य थप गर्ने अधिकार विधानले दिएको भन्दै २० जना थप गरेर पठाएका छन्।
यस्तै, जसपामा ३४ निर्वमान सांसद (दुई जना निलम्बित) मध्ये महन्थ-राजेन्द्र पक्षसँग २० जना छन् भने उपेन्द्र-बाबुराम पक्षसँग १२ जना मात्रै छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।