काठमाडौं- नेपाली राजनीतिमा चर्चामा आइरहने जिल्लामध्येको झापा अहिले कांग्रेसको राजनीतिले तातेको छ।
कांग्रेस केन्द्रमा तेस्रो धारको नेतृत्व गरेका नेता कृष्णप्रसाद सिटौला र प्रवक्ता विश्वप्रकाश शर्माको जिल्ला भएकाले पनि चासोका रुपमा झापालाई हेरिएको छ। तुलनात्मक रुपमा झापामा सिटौला पक्ष बलियो छ। यसअघिको जिल्ला सभापति सिटौला पक्षकै उद्धव थापा विजयी भएका थिए।
दुई कार्यकाल सभापतिको जिम्मेवारी निर्वाह गरेका थापा यसपटक सोही पदमा दोहोरिन पाउँदैनन्। झापामा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष कमजोर छ। आसन्न जिल्ला अधिवेशनमा मुख्य प्रतिस्पर्धा कांग्रेस सभापति शेरबहादुर देउवा र नेता सिटौला पक्षको हुने भएको छ। सिटौला र विश्वप्रकाश जिल्ला राजनीतिमा हाबी हुँदा पौडेल पक्ष कमजोर बनेको छ। जिल्ला सभापतिमा मुख्यतः पाँच जना आकांक्षी देखिएका छन्। सिटौला पक्षका तीन र देउवा पक्षका दुई जना।
सिटौला पक्षबाट जिल्ला सभापतिका प्रमुख दाबेदार हुन्- देउमान थेवे। थेवे पूर्व उपसभापति समेत हुन्। गत महाधिवेशनमा जिल्ला सभापतिको प्रतिस्पर्धी हुने लाइनमा थिए उनी। २०७२ को जिल्ला अधिवेशनमा अहिलेका सभापति थापासँग प्रतिस्पर्धी बन्न उनी लागेका थिए। सिटौला पक्षमा रहेका उनी क्याम्प परिवर्तन गरी देउवा पक्षमा गएर थापासँग प्रतिस्पर्धी बन्न लागेका थिए। १४औं महाधिवेशनमा जिल्ला सभापति बनाउने वचन सिटौलाले दिएपछि उनले थापालाई सहयोग गरेका थिए। सिटौला पक्षबाट जिल्ला सभापतिका प्रमुख दाबेदार थेवे रहेका छन्।
सिटौला समूहबाट नै वर्तमान कार्यसमितिका उपसभापति राम कट्टेल र जिल्ला पार्टी प्रवक्ता लोकराज ढकाल पनि सभापतिका आकांक्षी छन्। ढकाल महासमिति सदस्य हुन्।
देउवा पक्षले पूर्वसचिव भगिरथ पोदार वा डा खगेन्द्र पाण्डव अधिकारीमध्ये एकलाई प्रतिस्पर्धी बनाउने भएको छ। पोदारले गत निर्वाचनमा झापा ३ (ख) बाट पराजय भोगेका थिए। देउवा पक्षका अर्का बलियो उम्मेद्वार अधिकारी रहेका छन्। अधिकारीले गएको प्रतिनिधि सभा निर्वाचनमा हालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरेका थिए। त्रि-चन्द्र क्याम्पसको प्राध्यापन छोडेर उनी झापा-५ मा ओलीसँग निर्वाचनमा लड्न पुगेका थिए।
संस्थापन पक्षबाट जिल्ला सभापतिको प्रत्यासी बन्ने लाइनमा रहेका अधिकारी अहिले सक्रिय राजनीतिमा छन्। एक भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका जिल्लामा साउन २६ मा जिल्ला अधिवेशन हुने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।