काठमाडाैं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पूर्वी चितवनको राप्ती नगरपालिकाकी सुजिता भण्डारीको रहस्यमय ढंगले भएको मृत्युको अनुसन्धान गर्न र दोषीलाई अविलम्ब कानुनी कठघरामा उभ्याउन माग गरेको छ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्ति जारी गर्दै भण्डारीको रहस्यमय ढंगले भएको मृत्युले गम्भीर आशंका जन्माएको बताएका छन्।
'नाै दिनसम्म उनी नभेटिनु, कसैको नियन्त्रण र अपहरणमा परेको सूचना उनले दिएपछि पनि खोज अनुसन्धानले परिणाम हासिल नगर्नु र अन्तिममा जंगलमा मृत शरीर भेटिनुले अनेक प्रश्न उब्जिएको छ,' विज्ञप्तिमा भनिएको छ, 'नेपाली कांग्रेस सुजिता प्रकरणको गहिरो र गम्भीर अनुसन्धानमार्फत् दोषीलाई अविलम्ब कानुनी कठघरामा उभ्याउन सरकारसँग माग गर्दछ।'
देशको विभिन्न भागमा महिलाउपर अनेक प्रकृतिका हिंसा र हत्याका घटना पटक-पटक भएका र यो प्रवृत्तिलाई निरुत्साहित गर्न र सामाजिक परिवर्तनका लागि गम्भीर राष्ट्रिय विमर्श गर्न जरुरी भइसकेको कांग्रेसको भनाइ छ। 'घटनाहरुको गहिरो अनुसन्धान र कारबाहीका लागि राज्य प्रशासनको गम्भीर तदारुकता पनि झनै बिशेष बन्न बनाउन अत्यावश्यक भएको छ। पूर्वी चितवनको घटनाको गहिराईसम्म पुगेर अनुसन्धान गर्न माग गरिरहँदा नेपाली कांग्रेस यो प्रश्नमा पनि सबैको ध्यानाकर्षण गराउँदछ,' विज्ञप्तिमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।